१०२ मेगावाटको मध्यभोटेकोशी उत्पादनका लागि तयार – Online Khabar

साउन १६, २०८२
madhya bhotekoshi hydro102mw33 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

मध्यभोटेकोशी जलविद्युत् आयोजना एक सय २ मेगावाट क्षमतामा उत्पादनका लागि तयार भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुरुङ चुहावट परीक्षण र बाढीबाट संरचना सुरक्षित राख्न निर्देशन दिएका छन्।
आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ र प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन।

१६ साउन, काठमाडौं । एक सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्यभोटेकोशी जलविद्युत् आयोजनाका सम्बद्ध अधिकारीलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिए ।

पूर्णस्वदेशी सीप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाका रूपमा रहेको यो आयोजनाले उत्पादनको तयारी पूरा गरेको हो ।

कार्यकारी निर्देशक शाक्यले आयोजना अन्तर्गत ७.२ किलोमिटर सुरुङमा पानी नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।

यसका साथै पावरहाउस लगायत सबै पूर्वाधार भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिए ।

आयोजनाको बाँध मार्मिङ–९ चाकु र पावर हाउस जम्बुमा रहने छ । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणको काम केही महिनाअघि नै सम्पन्न भए पनि प्रसारण लाइन टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन ।

सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोड्ने लक्ष्य भए पनि स्थानीयसँग सहमति हुन नसकेपछि लामोसाँघु तर्फबाट ल्याउने प्रयास भएको थियो ।

त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यु खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो ।

२०७० सालदेखि निर्माण सुरु भएको आयोजनामा साउन २०७१ मा आएको जुरे पहिरो, वैशाख २०७२ को विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, असार २०७३ मा भोटेकोशी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोशी नदी एवं आसपास क्षेत्रमा आएको बाढी-पहिरो तथा कोभिड-१९ महामारीको चपेटा लगायत समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन  ।

Leave a Reply

Your email address will not be published.