विद्युत् बेचेर समृद्धि ल्याउँछौं, जनताको रगत बेचिन्न – Online Khabar

साउन १७, २०८२
dipak khadka 2082 04 13 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

ऊर्जा मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गर्नुभयो।
माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजनाको वित्तीय पक्षमा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
मन्त्री खड्काले निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई स्थान नदिने र ऊर्जा क्षेत्रमा नयाँ आशा थपिएको बताउनुभयो।

१६ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं ।’

सरकारले उत्पादन भएको विद्युत् उचित मूल्यमा बिक्री गर्दै मुलुकलाई समृद्ध बनाउने दिशामा कुनै कसर बाँकी नराख्ने उनको दाबी छ ।

समृद्धि इनर्जी प्रालिको नेतृत्वमा निर्माणाधीन उक्त आयोजनाको वित्तीय पक्षमा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको उनले जानकारी दिए ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिताले नयाँ आशा थपिएको उल्लेख गर्दै मन्त्री खड्काले विगतमा पीपीए, बजार सुनिश्चितता र प्रसारण लाइनको अभावले निजी क्षेत्र हतोत्साहित भएको बताए । तर अहिले ती समस्या क्रमशः समाधान हुँदै गएको दाबी गरे ।

उनले भने, ‘देशभित्र करिब १३ हजार ५ सय मेगावाट विद्युत् खपत गर्ने सम्भावना छ । भारत र बंगलादेशमा निर्यात सुरु भइसकेको अवस्थामा स्रोत र उत्पादनको सदुपयोग नगर्ने प्रवृत्तिले देशलाई पछि पार्छ ।’

ऊर्जा मन्त्रालय दीर्घकालीन समृद्धिको आधार हो भन्ने बुझाइका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई स्थान नदिने उनको भनाइ छ ।

समारोहमा समृद्धि इनर्जीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र गुरागाईं र कुमारी बैंकका तर्फबाट रामचन्द्र खनालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, बैंक तथा वित्तीय संस्था, ऊर्जा विज्ञ र निर्माण क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

वक्ताहरूले माथिल्लो सेती आयोजनालाई नेपालको ऊर्जा सुरक्षा र आर्थिक उत्थानका लागि महत्वपूर्ण कडीको रूपमा मूल्याङ्कन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.