प्रधानमन्त्री भन्छन्- नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा

साउन १७, २०८२
kp sharma oli by Ditible

१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गरेका छन् ।

शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजा त्रिभुवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।  त्यसअघि आधिकारिक रुपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको उनले जिकिर गरे ।

‘मैले भनिरहन पर्दैन, बडिबिल्डिङ, बडिबिल्डर्सहरूको विद्याको शिक्षाको, राजा त्रिभुवनलाई सिकाउने गुरु धर्मभक्त माथेमा पहिलो बडिबिल्डर्स हो नेपालको,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘नेपालको इतिहासमा अर्को बडिबिल्डर्स पाइँदैन । उहाँ नै पहिलो बडिबिल्डर्स हो ।’

तराई, मधेशमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भएपनि बडिबिल्डिङ र कुस्ती एउटै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यस्तै नेपालमा पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ रहेको पनि बताए ।

‘कुस्तीबाज त तराइमा प्रचलन थियो । तर दरबारमा पहिलो बडिबिल्डर्सको रुपमा उहाँ हुनुहुन्थ्यो । कुस्ती र बडिबिल्डर्स एउटै होइन,’ ओलीले भने ।

गंगालाल श्रेष्ठले विसं १९९५ सालमा पहिलो मानव अधिकारसम्बन्धी भाषण गरेको बताउँदै उनले विसं १९९७ सालमा गंगालालले नै इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गरेको बताए ।

‘पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल हुनुहुन्थ्यो । पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्ने गंगालाल हुनुहुन्थ्यो १९९५ सालमा,’ प्रधानमन्त्री ओलीले भने, ‘१९९७ सालमा खुला राजनीतिक भाषण कोणसभा भन्छौँ हामी त्यो सभाको रुपमा मंसिर १३ गते इन्द्रचोकमा राजनीतिक भाषण गर्नुभयो ।’

गंगालालले ०९७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने भाषण गरेपछि भूमिगत भएको पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.