माओवादी कार्यकर्ताले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताहरु पदका लोभी भए

साउन १८, २०८२
Shankar Lama Dolakha by Ditible

बोत्ले घटनामा पत्नी गुमाएका शंकर लामा

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाले शहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा बोल्दै दोलखाका नेता शंकर लामाले नेताका परिवार मारिँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधारणको परिवार मारिँदा वास्ता नगर्ने भनेर गुनासो पोखे ।

बोत्ले घटनामा पत्नी गुमाएका लामाले रुँदै भने, ‘शहीद पनि वर्गीय हुन लाग्यो । हुनेखाने, टाठोबाठो, अलि नेताहरुको परिवार यताउता भयो भने मनाइरहने । तर साधारण शहीद भएको वास्ता छैन ।’ उनले शहीदहरुको अभिलेख राखेर सबैको स्मृति दिवस मनाउन पार्टीलाई झकझकाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।

‘देशैभरका शहीदहरुको यस्तो डकुमेन्ट बनोस् अनि शहीद परिवारको पनि अलिकति मन शान्त हुन्छ कि, घाइतेहरुको पनि अलिकति मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिकति सुदृढ हुन्छ कि,’ उनले भने ।

उनले पार्टीको आन्तरिक विवादले शहीद तथा घाइते परिवार र कार्यकर्ताहरुलाई पिरोलेको बताए । ‘पार्टीभित्र गुट उपगुट जुन छ, त्यसले पनि शहीद परिवारलाई पिरोलेको छ, कार्यकर्तालाई पनि पिरोलेको छ र आम जनतालाई पनि निराश बनाइरहेको छ’ उनले भने ।

लामाले अहिले पार्टीमा विकेन्द्रीकरण नभई केन्द्रीकरणको आवश्यकता रहेको बताए । विगतमा पार्टी केन्द्रीकरण हुँदा नै जनयुद्ध सफल भएको उनले स्मरण गरे ।

उनले नेताहरुलाई पदको लोभी नबन्न सुझाव पनि दिए । उनले पार्टी कमिटी भद्दा भएको पनि रोश प्रकट गरे ।

‘पदलोलुप हुनु हुँदैन भनेर तपाईंहरुले प्रशिक्षण दिनुभाथ्यो । तर पदलोलुप हामी होइन, तपाईंहरु हुनु भएको छ,’ उनले पार्टी कमिटी चुस्त बनाउन अनुरोध गर्दै भने, ‘तपाईंहरुको भाइटल पोस्टमा कति जना छ ? सात जना नै चाहिने हो सचिव ? सातजनै चाहिने हो उपमहासचिव ? सातजनै जाहिने हो उपाध्यक्ष ? हिजो महामन्त्री हुँदामात्रै पनि त चल्याथ्यो ।’

उनले जनयुद्धकालमा राज्य पक्षले हत्या गरेको कुरा मिडियाले बाहिर नल्याएर माओवादीले मात्रै १७ हजार जना मारेको भनेर गलत प्रचार गरिएको गुनासो समेत गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोत्लेमा मारिएका र घाइते परिवारहरुलाई सम्मान गरेका थिए ।

२०५९ साउन १८ गते दोलखाको बोत्लेमा मध्यरातमा राज्यपक्षबाट तत्कालीन माओवादीका कार्यकर्ताहरु मारिएका थिए ।

Leave a Reply

Your email address will not be published.