News Summary
Generated by OK AI. Editorially reviewed.
सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा न्यायाधीशहरू गोला प्रक्रियाबाट छनोट गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई ज्ञापनपत्र पठाएको छ।
नेपालको संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा ४ न्यायाधीश संवैधानिक इजलासमा रहने व्यवस्था छ।
न्यायाधीशहरूको आन्तरिक समीक्षामा गोला प्रक्रियाबाट न्यायाधीश छनोट गर्न बहस भएको र सर्वोच्च अदालत बारले पनि सो माग गरेको छ।
१८ साउन, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ ।
सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई एक ज्ञापनपत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।
नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ ।
पछि सर्वोच्च अदालतकै व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास भएको थियो ।
चोलेन्द्रशम्सेर जबराको पालामा प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश छनोट गरेको आरोप लागेपछि प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरू संवैधानिक इजलासमा रहने भद्र सहमति भएको थियो । र हालसम्म पनि त्यो अभ्यास कायम छ ।
केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको आन्तरिक समीक्षामा संवैधानिक इजलासमा रहने न्यायाधीशहरूका बारेमा बहस भएको थियो । केही वरिष्ठतम न्यायाधीशहरूले अहिलेकै व्यवस्था यथावत हुनुपर्ने माग गरेका थिए भने केहीले रोस्टरमा रहेका न्यायाधीशहरूबीच गोला प्रक्रियाबाट न्यायाधीश छनोट हुनुपर्ने माग गरेका थिए ।
केही दिनअघि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा न्यायाधीशहरूबीच राय बाझिएर ३/२ को अनुपातमा मुद्दाको फैसला भएको थियो र प्रधानन्यायाधीश नै अल्पमतमा परेका थिए ।
त्यसपछि संवैधानिक इजलास गठनका बारेमा फेरि बहस हुन थालेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा सीमित भएको बहसमा प्रवेश गरेर सर्वोच्च अदालत बारले समेत गोला प्रथाको माग गरेको हो ।