ओली, देउवा र प्रचण्डसँग कुलिङ पिरियड छानबिन समितिले लिएन सुझाव

साउन १९, २०८२
Cooling period Chhanbin samiti Photos cover by Ditible

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले शीर्ष नेताको सुझाव लिने तयारी गरेको थियो । त्यसका निम्ति आवश्यक प्रश्न समेत बनाइएका थिए । तर, अन्तिमसम्म समिति शीर्ष नेताको सुझाव लिन असफल भएको छ ।

समितिको साउन ९ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउावसँग छलफल गर्नेबारे छलफल भएको थियो ।

तीन जना नेतालाई सोधिने दुई वटा प्रश्न तयार गरिएको थियो ।

पहिलो : कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?

दोस्रो : यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ?

यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारीमा समिति जुटेको भएता पनि सफल हुन सकेन ।

समितिका सभापति जीवन परियारका अनुसार शीर्ष नेताको सुझाव लिने विषय समितिमा उठेको थियो । तर, आधिकारिक निर्णय नै भने भएको थिएन । उनी भन्छन्, ‘हामीले त्यो लिने वा नलिने भन्ने बारेमा कुनै आधिकारिक निर्णय गरेका छैनौं ।’

सोधपुछ गर्दा शीर्ष नेता भएता पनि संसदीय समितिमै उपस्थित हुनुपर्ने वा उनीहरूको निवासमै गएर पनि सुझाव लिन सकिने विकल्पमा छलफल भएको थियो । तर, शीर्ष नेताको घरमै गएर सुझाव लिंदा हस्तक्षेप मागेको पर्न जाने भनेर समिति हच्कियो ।

‘अब हामीले समितिले सुझाव लिंदै गर्दा समितिमै बोलाएर लिने कुरा हो । कसैको घर–घरमा गएर लिन सान्दर्भिक हुँदैन । मलाई लाग्छ अब हामी त्यो तर्फ जाने काममा रहेनौं’, समितिका सभापति जीवन परियारले आइतबार The Wiribleसँग भनेका थिए ।

संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद हिजो नै सकिएको छ । हिजोको बैठकको निरन्तरता भनेर आज बिहानै देखि बैठक जारी छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा प्रतिवेदन पेस गर्ने समितिको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.