काठमाडौं । नेपालको गेमिङ इतिहासमा सुनौलो अध्याय थप्दै होरा ई–स्पोर्ट्सले साउदी अरेबियामा आयोजित पब्जी मोबाइल विश्वकप (पीएमडब्लूसी) मा नवौं स्थान हासिल गरेको छ ।
पहिलोपटक सहभागी भएको नेपाली टोलीले ग्राण्ड फाइनलमा ऐतिहासिक प्रदर्शन गर्दै कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर अर्थात लगभग १ करोड ७८ लाख ९७ हजार नेपाली रुपैयाँ पुरस्कार राशि पनि जितेर नेपालको ई–स्पोर्ट्स क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । यसैगरी प्रतियोगिताको उपाधि म्यानमारको वाइजी ई–स्पोट्र्सले १५७ अंक र ४ चिकन डिनरसहित जित्त सफल भयो । उपाधिसँगै वाइजीले ५ लाख ४७ हजार अमेरिकी डलर पुरस्कार राशि हात पा-यो ।
टोलीका कप्तान स्माइलले बेष्ट आइजिएलको पुरस्कार पनि जित्न सफल भए । यसैगरी १४२ अंकसहित चीनको वेबो गेमिङ दोस्रो स्थानमा र १४१ अंकसहित मंगोलियाको अल्फा गेमिङ तेस्रो स्थानमा हात पार्न सफल रहे । प्रतियोगिताको कुल पुरस्कार राशि झन्डै ४१ करोड रुपैयाँ रहेको थियो ।
होरा ई–स्पोट्र्सले काजकिस्तानमा भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थान हासिल गर्दै विश्वकपमा छनोट भएको थियो । साउदी अरेबियामा भएको विश्वकपमा होराले ग्रुप स्टेज, सर्भाइभल स्टेज र ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वका शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गरेको हो । शुक्रबारदेखि आइतबारसम्म अर्थात् ३ दिनसम्म चलेको प्रतियोगितामा होराले लिग चरणमा १३औं स्थान प्राप्त गरेको कारण सिधै ग्रान्ड फिनालेमा प्रवेश गर्न सकेन तर सर्भाइभल स्टेजमा होराले शानदार प्रदर्शन गर्दै १२ खेलमा २ चिकन डिनरसहित १०८ अंक जोडेर सर्भाइभल स्टेजको शीर्ष ८ मा स्थान बनाउँदै ग्राण्ड फिनालेमा प्रवेश गरेको थियो । यो चरणमा होराले २५ हजार डलर पुरस्कार जित्यो भने ग्रुप स्टेजको १३औं स्थानका लागि २७ हजार ५०० डलर प्राप्त गरेको थियो ।
ग्राण्ड फिनालेमा होराले विश्वका १६ उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा १८ खेलमा १०० अंकसहित नवौं स्थान हासिल गर्न सफल भयो । होराले अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जित्दै टोलीले आफ्नो उत्कृष्टता प्रमाणित गरेको थियो । नवौं स्थानका लागि ६० हजार डलर र शो म्याचको जितबाट १५ हजार डलरसहित होराले कुल १ लाख २७ हजार ५०० डलर पुरस्कार हात पार्न सफल रह्यो । होरा ई–स्पोट्र्सको टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए । यो टोलीको पहिलो विश्वस्तरीय सहभागिता भए पनि उनीहरूले देखाएको प्रदर्शनले नेपाली गेमिङ समुदायमा ठूलो हौसला प्रदान गरेको छ ।










