मुकुलको कारबाही अद्यावधिकमा आयोगले देखाएको भूमिकामाथि रास्वपाको प्रश्न

साउन २१, २०८२
Mukul Dhakal mahamantri RSP 2 by Ditible

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई दलबाट पदमुक्त गरेको निर्णयहरू पटकपटक निर्वाचन आयोगमा पेश गर्दा समेत अद्यावधिक नगरेको जनाएको छ ।

रास्वपाले अनुशासन समितिको सिफारिसका आधारमा २०८१ असार २५ गते बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गरेको थियो । उक्त बैठकको निर्णय २०८१ साउन १७ गते अद्यावधिकको लागि निर्वाचन आयोगमा बुझाएको थियो ।

त्यसपछि रास्वपाले गत असोजको १ र २ गते पहिलो राष्ट्रिय भेला गरेको थियो ।

रास्वपा सांसद सोबिता गौतमका अनुसार, राष्ट्रिय भेलाले विधान संशोधन गर्ने निर्णयलाई निर्वाचन आयोगले २०८१ पुस २८ गते अद्यावधिक गर्‍यो । तर, केन्द्रीय समिति हेरफेरको विवरण भने अद्यावधिक नगरेको उनको भनाइ छ ।

अद्यावधिक गर्न निवदेन दिएको ११ महिना पश्चात मात्रै आयोगले केन्द्रीय समितिमा भएको हेरफेरको कागजात मागेको गौतमको भनाइ छ ।

‘हामीले विधिपूर्वक आयोगले मागे अनुसारका कागजात अद्यावधिकका लागि पटकपटक पत्र पठाउँदा पनि अद्यावधिक भएन,’ सांसद गौतमले भनिन्, ‘यसले आयोगको भूमिकामाथि नै प्रश्न उठाएको छ ।’

पछिल्लो समय गत असारको ७ गते महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने रास्वपाले निर्णय गरेको थियो । पदाधिकारीमा जिम्मेवारी परिवर्तन भएको हुँदा त्यसको अद्यावधिक गर्न असार १० गते आयोगमा निवेदन रास्वपाले दिएको छ ।

पदमुक्त महामन्त्री ढकालले निर्वाचन आयोगमा गत असार ४ गते उनको निवेदनका आधारमा पत्र दिएर आयोगले अद्यावधिक नभएको भनि भ्रम सिर्जना गरेको रास्वपाले जनाएको छ ।

ढकालले आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको थियो ।

तर, मुकुलबारे त्यति चाँडै पत्रको जवाफ लेखिहाल्ने तर आफूहरूले महिनौंअघि गराएको जानकारी अद्यावधिक नहुनलाई शंकास्पद रुपमा पार्टीले लिएको रास्वपाको भनाइ छ ।

आयोगको भूमिका माथि प्रश्न उठाउँदै रास्वपाले आयोगले सूचना दिँदा अद्यावधिकका लागि पेश गरेका विषयहरू लुकाएको रास्वपाको निष्कर्ष छ ।

‘निर्वाचन आयोगको काम दलको विवरण हेरफेरको विषय विधिपूर्वक लेखि आए पश्चात अद्यावधिक गराउनु पर्नेमा यी दृष्टान्त विश्लेषण गर्दा आयोगको काममा कैफियत देखिएको र दलको बारेमा सूचना दिने सम्बन्धमा आयोग व्यावसायीक नदेखिएको,’ रास्वपाको निष्कर्ष छ ।

अद्यावधिकको लागि निर्वाचन आयोगले दलको आन्तरिक व्यवस्थापनमा लोकतान्त्रिक चरित्र नदेखाएको गुनासो रास्वपाले गरेको छ ।

आयोग कार्यशैलीप्रति रुष्ट हुँदै रास्वपाले भनेको छ, ‘अद्यावधिकको लागि सम्पर्क गर्दा ‘राजनैतिक दलले विवरण हेरफेरको निवेदन ३० दिन भित्र आयोगमा दिनुपर्ने तर अद्यावधिकको लागि आयोगलाई कुनै समय सिमा वाध्य नभएको’ भन्ने गैर जिम्मेवार जवाफ दिने अवस्थाले लोकतान्त्रिक विधिबाट छिरेर निरंकुशता अभ्यास गर्न खोजिएको आभास भएको छ ।’

अद्यावधिकका लागि आयोगमा रास्वपाले कहिले के बुझायो ? (टाइमलाइन)

१) मिति २०८१।०३।१९ गते केन्द्रीय अनुशासन आयोगले तत्कालीन महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई ७ दिनका लागि निलम्बन केन्द्रीय समितिलाई गरेको च.नं. ११३ केन्द्रीय अनुशासन आयोगको सिफारिस

२) मिति २०८१।०३।१९ गते केन्द्रीय समितिको निर्णय बमोजिम तत्कालीन महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई ७ दिनका लागि महामन्त्री तथा प्रवक्ताबाट निलम्बन केन्द्रीय समितिलाई गरेको च.नं. १४८ ।

३) मिति २०८१।०३।२३ को च.नं.११४ को केन्द्रीय समितिलाई केन्द्रीय अनुशासन आयोगले बुझाएको पत्र र ९ पेजको सिफारिससहितको प्रतिवेदन ।

४) मिति २०९१।०३।२५ गतेको केन्द्रीय समितिको बैठकबाट महामन्त्री तथा प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने उपस्थित केन्द्रीय सदस्यको सर्वसम्मत निर्णय ।

५) मिति २०९१।०३।२५ गतेको केन्द्रीय समितिको बैठकबाट महामन्त्री तथा प्रवक्ता पद मुक्त गरिएको जानकारी च.नं.२९८

६) मिति २०८१।०४।१७ गते केन्द्रीय समितिले निर्वाचन आयोगलाई पदाधिकारी परिवर्तन सम्बन्धी पत्र निर्वाचन आयोगको द.नं.२०१ मा अनुसूची–१८ को विवरण बुझाएको सभापतिको हस्ताक्षर भएको – पदाधिकारीबाट मात्र हटाएको ।

मिति २०८१।०५।१२ मा निर्वाचन आयोगमा पेश गरेको पत्र: दर्ता नं. २९५

७) मिति २०८१।०४।२८ को केन्द्रीय अनुशासन आयोगको सिफारिस पत्र ।

८) मिति २०८१।०४।३० गते पार्टीका तर्फबाट सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले च.नं.४४ को साधारण सदस्यबाट हटाउने विषयमा २४ घण्टाभित्र स्पष्टीकरण माग गरी पत्र पठाइएको केन्द्रीय समितिबाट ।

९) मिति २०८१।०४।३१ गते मुकुल ढकालले पार्टी सभापतिलाई सम्बोधन गरी असान्दर्भिक  जवाफ दिएको ।

१०) मिति २०८१।०५।०५ गते केन्द्रीय समितिको च.नं. ०५७ को पत्र । मिति २०८१।०५।०६ मा बुझेको पत्रबाट पुन: २४ घण्टाभित्र पुन:स्पष्टीकरण पेश गर्नु भनी पत्र दिएको ।

११) मिति २०८१।०५।०७ गते मुकुल ढकालले दिएको जवाफ

१२) मिति २०८१।०५।११ को च.नं. ०६२ मार्फत केन्द्रीय समितिको निर्णयानुसार मिति २०८१।०५।११ मा साधारण सदस्यता खारेज गरेको र ३५ दिनको म्याद पुनरावेदन गर्न भनि धारा ५७ (१)

१३) मिति २०८१।०५।१२ मा केन्द्रीय समितिले च.नं.०६३ को पत्र मार्फत मुकुल ढकाललाई सदस्यबाट निस्कासन गरिएको व्यहोरा उल्लेख गरी निर्वाचन आयोगमा आवश्यक कारवाही गर्न पत्र बुझाएको ।

मिति २०८२।०३।१२ मा निर्वाचन आयोगमा पेश गरेको पत्र:

१४) मिति २०८१।०५।१६ गते मुकुल ढकालले पुनरावेदन विधानको धारा ५७ बमोजिम दिएको पुनरावेदन पत्र

१५) मिति २०८१।०५।१६ गते मुकुल ढकालले पुनरावेदन विधानको धारा ५७ बमोजिम दिएको पुनरावेदन पत्र

१६) मिति २०८२।३।७ केन्द्रीय समितिले महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई मनोनित गरेको निर्णय प्रतिलिपि ।

१७) पदाधिकारी विवरण हेरफेरसंग सम्बन्धित राजीनामा पत्र ।

१८) मिति २०८२।३।८ गते निर्वाचन आयोगमा पदाधिकारी हेरफेर अद्यावधिकको लागि निवेदन दिएको

१९) मिति २०८२।३।१० (दर्ता २०८२।३।१९) गते निर्वाचन आयोगमा पदाधिकारी हेरफेर अद्यावधिकको लागि बुझाएको अनुसूची १८ सच्याई पेश गरेको

Leave a Reply

Your email address will not be published.