ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म, हैजा फैलिने जोखिम

साउन २३, २०८२
jar drinking water by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

ललितपुरका विभिन्न स्थानबाट संकलन गरिएका २८ पानी नमुनामध्ये ११ मा फिकल कोलिफर्म फेला परेको छ।
जनस्वास्थ्य कार्यालय ललितपुरले दूषित पानीले टाइफाइड, झाडापखाला र हैजा फैलन सक्ने चेतावनी दिएको छ।
सरकारले दूषित पानी स्रोतको नियमित परीक्षण र शुद्धीकरण गर्नुपर्ने र पानी उमालेर मात्र पिउन सुझाव दिएको छ।

२३ साउन, काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको हो ।

स्वास्थ्य शाखाले दिएको विवरण अनुसार ८ साउनमा गोदावरी नगरपालिकाबाट ल्याइएका १० पानीको जारमध्ये ६ मा कोलिफर्म भेटिएको थियो ।

१६ साउनमा बागमती गाउँपालिकाको पाङ्रेटार र ज्यामिरे खानेपानी स्रोतबाट ल्याइएका ६ नमुनामा कोलिफर्म भने देखिएन । तर १९ साउनमा माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएका पाँचै नमुनामा फिकल कोलिफर्म भेटिएको हो ।

फिकल कोलिफर्म पानीमा मानव वा जनावरको दिसा मिसिएको संकेत हो ।

यस्तो दूषित पानी पिउँदा टाइफाइड, झाडापखाला र हैजासम्मका रोग फैलन सक्छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले ललितपुरका केही क्षेत्रमा गरिएको पानी परीक्षणमा दिसाबाट फैलिने जीवाणु कोलिफर्म फेला परेको बताए ।

उनका अनुसार पानीको नियमित स्क्रिनिङका क्रममा विद्यालय, समुदाय र गोदावरी क्षेत्रका केही नमुनामा उक्त जीवाणु भेटिएको हो ।

‘हैजाको बिरामी भने भेटिएको छैन, तर कोलिफर्म देखिनु राम्रो होइन,’ डा. पौडेलले The Wiribleसँग भने, ‘यसले खानेपानीमा दिसा मिसिएको संकेत दिन्छ । पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र खानु सुरक्षित हुन्छ ।’

उनका अनुसार कोलिफर्म देखिएको पानी पिउनाले हैजा मात्र होइन, टाइफाइडलगायत अन्य पानीजन्य रोगको जोखिम उच्च हुन्छ ।

जनस्वास्थ्य कार्यालयले गोदावरीमा जार पानीमा समेत कोलिफर्म देखिएपछि सम्बन्धित निकायलाई कारबाहीका लागि पठाइसकेको छ ।

डा. पौडेल भन्छन्, ‘ कोलिफर्म भेटिनुले पानीका मुहानहरू प्रदूषित भन्ने देखाउँछ । त्यसैले नियमित परीक्षण र स्रोतको शुद्धीकरण अत्यावश्यक छ ।’

उनका अनुसार यस्तो पानी प्रत्यक्ष पिउनु खतरनाक हुन्छ । अनिवार्य रूपमा उमालेर मात्र सेवन गर्नुपर्छ ।

काठमाडौंमा पहिले धारा तथा इनारको पानी बढी प्रयोग गर्ने गरिन्थ्यो । यी पानीको शुद्धीकरणमा ध्यान नदिँदा झाडापखाला अनि हैजा जस्ता रोगहरू फैलने गर्दथ्यो ।

पछिल्लो केही वर्ष यता काठमाडौंमा जारमा बन्द व्यावसायिक पानीको व्यापक प्रयोग बढेको छ । विद्यालय, कार्यालय, घर, चमेना गृह/रेस्टुरेन्ट वा सार्वजनिक स्थानमा जारका पानीको उपभोग व्यापक बढ्दो छ ।

त्यस्ता जारका पानीको विभिन्न समयमा गरिएका प्रयोगशाला परीक्षणहरूमा ‘फिकल कलिफोर्म’ प्रमाणित हुने गरेको देखिन्छ । अर्थात् त्यस्ता जारका पानी दिसा मिश्रित अनि स्वास्थका लागि पिउन योग्य नभएको भन्ने हो ।

पानीको कोलिफम भेटिँदा हैजा, टाइफाड र झाडापखला जस्ता स्वास्थ्य समस्या हुन्छन् ।

प्रत्येक वर्ष दूषित पानीका कारण हैजा फैलिने गरेको छ । विगतको तुलनामा हाल अस्पताल भर्ना हुने हैजा बिरामीको संख्यामा उल्लेखनीय कमी आएको छ । यद्यपि हैजा प्रकोपको जोखिम काठमाडौंमा यथावत नै देखिन्छ । केही वर्ष अगाडि कपिलवस्तुको कृष्णनगर नगरपालिका–७, ८ र ९ मा हैजा फैलिँदा केही बिरामीको मृत्यु भएको थियो ।

वर्षेनी मनसुनमा हुने भारी वर्षाबाट उत्पन्न बाढी जस्ता प्राकृतिक प्रकोपले हैजाको जोखिमलाई अरू थप बढाइ दिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

डा. शेरबहादुर पुन/फाइल तस्वीर

हैजा एक उच्च संक्रामक तथा घातक ब्याक्टेरिया हो । कडा हैजा देखिएको केही घण्टाभित्रै उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्छ । संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र लक्षणहरु देखिने गर्छ । चौलानी पानी जस्तो दूधिलो पातलो दिसा तारन्तार हुनु, बान्ता हुनु, मांसपेशी (खासगरी पिडुँलाको) बाउँडिनु, बेचैनी हुनु हैजामा देखिने प्रारम्भिक लक्षण हुन् ।

धेरै संक्रमितहरुमा लक्षणहरु कि त मध्यम वा सामान्य हुने गर्छन् कि लक्षणविहीन हुने गर्छ । तर त्यस्ता संक्रमितहरूले दिसा मार्फत हैजाको ब्याक्टेरिया भने फैलाइरहेको हुन्छ ।

अहिले वर्षातको समय भएकाले महामारीको रूप लिनुपूर्व नै रोकथाम गर्न सर्तकता अपनाउनुपर्ने उनी बताउँछन् । कसैलाई तारन्तार झाडापखाला भए जीवनजल पिउन र अस्पताल जान डा. पुनको सुझाव छ ।

चिकित्सकहरूका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ । बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए हैजाको संक्रमण हुन सक्छ ।

हैजा, झाडापखलाबाट बच्न शौचालयमा मात्रै दिसा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने डा. पुनको सुझाव छ ।

सरसफाइमा ध्यान दिनु नै हैजा रोकथामको प्रमुख विकल्प चिकित्सक बताउँछन् ।

पानीको नमूना परीक्षण गर्न काठमाडौं टेकुस्थित केन्द्रीय प्रयोगशाला वा सम्वन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयमा जान सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published.