आपराधिक क्रियाकलापमा नेपालीको संलग्नता बढ्दो – Online Khabar

साउन २३, २०८२
uk police london police england by Ditible

लन्डन । बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली गत महिना जेल चलान भए । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो ।

हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गतवर्ष २८ अक्टुबरमा पक्राउ गरि अभियोग लगाएको थियो ।

लामाको साथमा २८ पोका हिरोइन र २८ पोका क्रयाक कोकीन फेला परेको थियो । अनुसन्धानले उनी संगठित ड्रग तस्करीमा संलग्न रहेको खुलासा गरेको थियो ।

आफ्नो लुगामा लुकाएर राखेको क्लास ए लागूऔषधसहित रंगेहात पक्राउ परेका उत्तम गुरुङ अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।

२७ वर्षीय गुरुङलाई आसफोर्डको न्यू स्ट्रिटमा प्रहरी अधिकारीहरूले पक्राउ गर्दा उनको शरीरमा ’क्रयाक’ कोकेन र हेरोइनसहित ५० वटा लागूऔषधका पोका फेला पारेका थिए ।

उनले सबै आरोप स्वीकार गरेपछि गत वर्ष जनवरी २६ मा क्यान्टरबरी क्राउन कोर्टमा उनलाई तीन वर्षको जेल सजाय सुनाइयो ।
बेलायतमा नेपाली जनसंख्या बढेसँगै उनीहरुका आपराधिक क्रियाकलाप समेत बढेको छ ।

नेपालीहरु ओभरस्टे, करणीदेखि हत्या प्रयास, सामाजिक सुरक्षामा खलल, कुटपिट, भौतिक आक्रमण तथा सम्पत्ति क्षति, यौन दुव्र्यवहार, वालवालिकाको आपत्तिजनक तस्विर वितरण, बैंकिङ कसुर (क्रेडिट कार्ड प्रयोग गरि बेपत्ता हुने) आदि अपराधमा नेपालीहरु प्रहरी हिरासत हुंदै जेल चलान हुने क्रम बढेको नेपाली दूतावासको भनाइ छ ।

बेलायत नेपाल कूटनीतिक सम्बन्धको इतिहास झण्डै २१० वर्ष लामो छ । दुई देशबीच सम्बन्ध प्रगाढ पनि छ । यो प्रगाढ सम्बन्धका प्रमुख आधार स्तम्भ गोर्खा हुन् भनिन्छ । नेपालसँग बेलायतको विकास साझेदारी विभिन्न क्षेत्रमा लामो समयदेखिको सहयोगमा आधारित छ ।

तर, यो सकारात्मक पक्ष हुँदाहुँदै बेलायतको नेपाली डायष्पोरा अचेल आपराधिक गतिविधिमा समेत मुछिन थालेपछि यसले समुदाय चिन्तित छ ।

लन्डनस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार, गम्भीर आपराधिक कार्य गरेको अभियोगमा जुलाईमा मात्र ५ जना र सन् २०२५ यता दर्जन बढी नेपाली प्रहरी हिरासत पुगेका खबर दूतावास आइपुगेको थियो ।

‘कतिले हामीलाई खबर नै गर्दैनन् । गरेकाहरु पनि पछि कानूनी प्रक्रियामा जाँदा अभियोगबारे दूतावासलाई भन्दैनन्’, उपनियोग प्रमुख दुवाडीले The Wiribleसँग भने, ‘यकीन तथ्यांक पाउन मुश्किल भएपनि नेपालीहरु फौजदारी अपराधदेखि आप्रवासन सम्बन्धी मुद्दाका कारण बेलायती जेलमा परेका घट्ना कयौं छन् ।’

दूतावासमार्फत यस आर्थिक वर्षमा १९८ जनाले सम्बन्ध विच्छेदका लागि वारेसनामा दिएका छन् । ‘पारिवारिक बेमेलपछि उत्पन्न आक्रोश र मानसिक तनावका कारण पनि धेरै जना आपराधिक क्रियाकलाप उन्मुख पाइएको छ’, दुवाडीले भने, ‘एउटा अपराध गर्दा व्यक्ति स्वयंमाथि पर्ने असर त छंदैछ, यसले समग्र देशकै प्रतिष्ठामा आंच पुग्ने भएकाले संयमित भएर कानून पालना गर्न हाम्रो आग्रह छ ।’

केही परामर्श आवश्यक भए दूतावासले जुनैबेला दिने पनि उनले बताए । एकताका नेपाली उल्लेख्य रहेको रसमोर क्षेत्र हेर्ने स्थानीय प्रहरीले बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढेको भन्दै बेलैमा सचेत रहन नेपाली भाषामा सूचना नै जारी गरेको थियो ।

ह्याम्पसायर कस्टबुलरीको इन्टरनेट चाइल्ड अब्यूज टिमले १८ वर्ष मुनीका बालबालिकाको अश्लील र अशोभनीय तस्विरहरु खिच्न, राख्न, वितरण गर्न वा यौन सम्बन्धि कुराकानी गर्नु पनि बेलायतको कानून अनुसार गैर कानूनी मानिने अवगत गराएको हो ।

१८ वर्ष भन्दा कम उमेरका जो कोहीको यौन मुद्रा का तस्वीर (कागजी वा इलेक्ट्रोनिक प्रतिलिपि), राख्नु, त्यस्ता तस्विर च्याट रुम, इमेल, फोन एप्लिकेसन, टेक्स्ट, युएसबी स्टिक र फाइल सेयरिङ वेबसाइट (पियर–टु–पियर) मार्फत अरुलाई पठाउनु, कुनै नाबालकको यौन उत्तेजित पार्ने तस्वीरको इलेक्ट्रोनिक कपी बनाउनु र नाबालकको यौनिक तस्वीरहरू लिनु आदि यौन अपराध मानिन्छ ।

बेलायतमा एकपटक अपराध गरेपछि त्यसको अभिलेख पछिसम्म रहने कानूनविद्‌हरु बताउँछन् ।

‘यसले घर किन्न मोर्गेज लिनदेखि जागिर खान, स्थायी आवासीय भिसा लिन वा अरु काममा समेत नराम्रो असर गर्छ’, सोलिसिटर राजु थापाले भने, ‘बेलायतमा कानूनभन्दा माथि कोही छैन । कसैले पनि आक्रोशमा आएर हातपात, यौन दुव्र्यवहार, चोरी ठगी वा अध्यागमन कानून उल्लंघन नगर्नु होला ।’

Leave a Reply

Your email address will not be published.