काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज अस्ट्रेलियाको डार्बिनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुन प्रस्थान गर्दैछ । यहि साउन २९ गते विहिबारदेखि भदौ ८ सम्म चल्ने यो प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली अष्ट्रेलिया जान लागेको हो ।
यो २ साताको अष्ट्रेलिया भ्रमण नेपाली टोलीका लागि आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीको महत्वपूर्ण हिस्साका रुपमा हेरिएको छ ।
टप एन्ड टी–२० सिरिजमा नेपालले अस्ट्रेलियाको बिग ब्यास लिगका एकेडेमी टोलीहरू, बंगलादेश ‘ए’ र पाकिस्तान ‘ए’ (साहिन्स) जस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । यो सिरिजका खेलहरु डार्बिनका डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेलाइने छ । नेपालले यस भ्रमणका क्रममा ६ वटा खेल खेल्ने तालिका रहेको छ, जसले नेपाली टोलीलाई आफ्नो रणनीति र प्रदर्शनलाई निखार्ने अवसर पनि दिनेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेल यहि साउन ३० गते शुक्रबार नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग खेलेर सुरुवाट गर्नेछ । त्यसैगरी भोलीपल्ट शनिबार अर्थात साउन ३१ गते दोस्रो खेल बंगलादेश ‘ए’विरुद्ध, तेस्रो खेल भदौ १८ गते सोमबार मेलबर्न स्टार्ससँग, चौथो खेल भदौ ३ गते मंगलबार होबर्ट हुरिकेन्सविरुद्ध, पाँचऔ खेल भदौ ४ गते वुधबार मेलबर्नविरुद्ध र प्रतियोगिताको अन्तिम तथा छौटौ खेल भदौ ६ गते शुक्रबार पाकिस्तान साहिन्सविरुद्ध खेलेर अष्ट्रेलिया भ्रमण टुङ्गयाउने छ ।
अष्ट्रेलिया सिरिज नेपालका लागि केवल एक प्रतियोगिता मात्र नभएर आगामी टी–२० विश्वकप छनोटको तयारीको महत्वपूर्ण कदम पहि हो । मुख्य प्रशिक्षक स्टुअर्ट ल’ले यो भ्रमणले टोलीको समग्र प्रदर्शन र रणनीति सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । यहि सिरिजलाई ध्यानमा राख्दै नेपाल क्रिकेट सङ्घ (क्यान) आइतबार नै रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीलाई बिदाई गरेको थियो ।
टोलीमा ललितनारायण राजवंशीको स्थानमा साहब आलमलाई समावेश गरिएको छ, किनभने ललितकी आमाको हिजो आइतबार निधन भएका कारण उनी टोलीमा सहभागी हुन सकेनन् । अष्ट्रेलिया भ्रमण टोलीमा अनुभवी खेलाडीहरू सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको उपस्थितिले टोलीलाई बलियो बनाएको छ ।
त्यस्तै, हालै सार्वजनिक भएको आइसिसी टी–२० अलराउन्डर वरीयताको शीर्ष २ मा अटाएका दीपेन्द्र सिंह ऐरी नेपाली टोलीको प्रमुख हतियार हुन् भने, युवा खेलाडी कुशल मल्ल, गुलशन झा र लोकेश बमले टोलीमा नयाँ जोश र ऊर्जा थपेका छन् । अष्ट्रेलिया जाने टोलीहरुमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र साहब आलम रहेका छन् ।
अष्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा दुई पटकको टि–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।
यो सिरिज क्यानले नै आयोजना गर्न लागेको हो । युएइको शारजाह क्रिकेट रंगशालामा खेलाइने यो सिरिजमा नेपालले वेस्ट इन्डिजविरुद्ध भदौ ११, १२ र १४ गते खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आइसिसी विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको खेल नेपाली टोलीका लागि ऐतिहासिक हुनुका साथै आफ्नो क्षमता परिक्षण गर्ने अवसर पनि हो ।
यो सिरिजले नेपाललाई विश्वकप छनोटअघि आफ्नो रणनीति र प्रदर्शनलाई थप परिष्कृत गर्ने अवसर प्रदान गर्नेछ । यूएई भ्रमणपछि नेपाली क्रिकेट टोली आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोटमा सहभागिता जनाउने छ ।
यो छनोट प्रतियोगितामा ९ टोलीको सहभागी रहनेछ, जसमा नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन्, भने शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप मा स्थान बनाउनेछन् ।










