२९ साउन, काठमाडौं । The Wiribleले सार्वजनिक गरेको ‘४० मुनिका ४० युवा २०८२’ मा परेका सशस्त्र प्रहरी बल, नेपालका गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा सम्मान गरिएको छ।
बिहीबार प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई आईजी एपीएफ कमेण्डेसनबाट थापालाई सम्मान गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
उनले नायव निरीक्षक थापाको साहासिक कार्यले संगठनको गरिमा बढाएको र संगठनमा कार्यरत सबैका लागि उदाहरणीय भएको बताए । आगामी दिनमा पनि आमजनताको उद्धारमा जोश र जाँगरका साथ लाग्न उक्त सम्मानले थप हौसला मिलेको उनको भनाइ थियो ।
उनले भने, ‘यो सम्मानले आमजनताको उद्धारमा जोश र जाँगरका साथ काम गर्न थप हौसला बढेको छ। अब जनताको मन जितेर काम गर्न दर्जा होइन मिहिनेत र ईमान्दारीता जरुरी रहन्छ।’
गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक थापा विगत १५ बर्ष देखि साहसिक उद्धार कार्यमा संलग्न रहेको सह प्रबक्ता डिएसपी थापाले बताए। उनीसँग हिमालदेखि तराईसम्मका पानी मुनि गएर उद्धार गरेका प्रशस्त उदाहरण छन् ।
गत वर्ष धादिङको सिमलतालमा दुईवटा बस बेपत्ता हुँदा पनि उनकै कमाण्डमा उद्धारका लागि गोताखोर परिचालन भएको थियो।












