काठमाडाैं । टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहान सवा सात बजे मेलबर्न स्टार्स एकेडेमीविरुद्ध तेस्रो खेल खेल्दैछ । अस्ट्रेलियाको डार्विन र पामरस्टनमा जारी प्रतियोगितामा हालसम्म खेलेका दुवै खेलमा पराजय भोगेको नेपाली टोलीले यो तेस्रो खेलमा पहिलो जित हासिल गर्ने लक्ष्य राखेको छ ।
नेपाली टोलीले सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नर्दर्न टेरिटोरीले १७७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १३५ रनमै अलआउट हुँदै ४२ रनको हार बेहोरेको थियो ।
यस्तै, दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ टोलीविरुद्ध १८७ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाली टोली १५४ रनमै समेटिएर ३२ रनले पराजित भयो । नेपालकका लागि कुशल मल्लले ५९ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यस्तै आसिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले १४ र कुशल भुर्तेलले १२ रन बनाउँदा गुल्सन झा शून्य र दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भएका थिए ।
यता मेलबर्न स्टार्स एकेडेमीले भने सिरिजमा बलियो प्रदर्शन गरिरहेको छ । टोलीले होबार्ट हरिकेन्स एकेडेमीलाई ६ विकेट र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ४ रनले पराजित गरिसकेको छ । यस टोलीमा बिग बास लिग (बीबीएल) र अस्ट्रेलियाको उमेर समूहमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरू समावेश छन् । यो तेस्रो खेलमा मेलबर्न स्टार्स आफ्नो ह्याट्रिक जितको लक्ष्यमा रहनेछ भने नेपालले हारको शृङ्खला तोड्ने प्रयास गर्नेछ ।
नेपाली टोलीले यो सिरिजलाई आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ तर, हालसम्मको प्रदर्शनले टोलीको ब्याटिङ लाइनअपमा सुधारको आवश्यकता देखिएको छ । प्रमुख ब्याटरहरू रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम र कुशल भुर्तेलले परिस्थितिअनुसार खेल्न नसक्दा टोली दबाबमा परेको छ । कुशल मल्ल र आसिफ शेखले केही आशा जगाए पनि समग्र टोलीको प्रदर्शन सन्तुलित हुन सकेको छैन ।
बलिङमा सन्दीप लामिछाने र साहब आलमले राम्रो प्रदर्शन गरे पनि अन्य बलरहरूले निरन्तरता कायम राख्न सकेका छैनन् । सोही कारण आज हुने खेलमा मेलबर्न स्टार्सविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन गर्नुपर्नेछ ।
टप एन्ड टी–२० सिरिजमा नेपालले कुल ६ लिग खेल खेल्नेछ । मेलबर्न स्टार्सविरुद्धको खेलपछि नेपालले १९ अगस्टमा होबार्ट हरिकेन्स एकेडेमी, २० अगस्टमा मेलबर्न रेनेगेड्स एकेडेमी र २२ अगस्टमा पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ। लिग चरणको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, र फाइनल २४ अगस्टमा हुनेछ । यदि नेपाल फाइनलसम्म पुग्यो भने नेपालले ८ वटा खेल खेल्नेछ तर हालको अवस्था हेर्दा नेपाल समूहचरणभन्दा अघि बढ्ने सम्भावना निकै न्यून देखिन्छ, त्यसका लागि नेपालले आगामी खेलमा उत्कृष्ट कमब्याक गर्न आवश्यक छ ।













