२६ खेलाडीले पेनाल्टी हानेकाे खेलमा म्यानचेस्टर युनाइटेड पराजित -वाइरिबल

भदौ १२, २०८२
united by Ditible

लन्डन । ईएफएल कपको दोस्रो चरणमा इतिहास रच्दै लिग टु क्लब ग्रिम्सबी टाउनले प्रिमियर लिगको महारथी क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ।

बुधबार राति भएको खेलमा २-० को अग्रता लिएर पनि युनाइटेडले खेललाई पेनाल्टीमा धकेलेको थियो, तर अन्ततः २६ पेनाल्टीको एतिहासिक सुटआउटमा ग्रिम्सबी टाउनले १२-११ को जित हासिल गर्दै युनाइटेडलाई प्रतियोगिताबाट बाहिर पठाएको हो।

ब्लन्डेल पार्कमा भएको यो खेलमा घरेलु टोली ग्रिम्सबीले उत्कृष्ट सुरुवात गर्‍यो। उनीहरूले खेलको २२ औं मिनेटमा चार्ल्स भेरनामको गोलबाट अग्रता लिए। आठ मिनेटपछि नै टायरेल वारेनले अर्को गोल थपेर ग्रिम्सबीको अग्रता २-० पुर्‍याए।

पहिलो हाफमा २-० ले पछि परेपछि युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले दोस्रो हाफको सुरुवातमा नै ब्रुनो फर्नान्डेस, म्याथिस डी लिग्ट र ब्रायन म्ब्युमोलाई मैदानमा उतारे। युनाइटेडको दबाब बढ्दै गयो र ७५ औं मिनेटमा ब्रायन म्ब्युमोले गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि खेलको ८९ औं मिनेटमा ह्यारी म्यागुइरेले हेडमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए र खेल पेनाल्टी सुटआउटमा धकेलियो।

पेनाल्टी सुटआउट निकै नाटकीय रह्यो। दुवै टोलीका खेलाडीहरूले लगातार गोल गर्दै गए। पेनाल्टी १२-११ मा पुग्दा म्यानचेस्टर युनाइटेडका लागि ब्रायन म्ब्युमोले निर्णायक पेनाल्टी प्रहार गरे, तर उनको प्रहार क्रसबारमा लागेर बाहिरियो। यससँगै ग्रिम्सबी टाउनले एतिहासिक जित हासिल गर्‍यो। यो जितपछि ग्रिम्सबीका समर्थकहरूले मैदानमा गएर आफ्ना खेलाडीहरूसँग खुसीयाली मनाएका थिए।

Leave a Reply

Your email address will not be published.