रियाद । साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमै अल-नासरले प्रभावशाली प्रदर्शन गर्दै अल-ताओउनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
किंग अब्दुल्लाह स्पोर्ट सिटी स्टेडियममा भएको खेलमा अल-नासरको आक्रमण निकै धारिलो देखिएको थियो। खेलको पहिलो हाफमा जोआओ फेलिक्सले नै गोल गर्दै अल-नासरलाई ७औँ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि ५४औं मिनेटमा टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै २-० को अग्रता बनाए।
यस सिजन क्लबमा नयाँ अनुबन्ध भएका किङ्स्ली कोमानले पनि आफ्नो छाप छोड्दै रोनाल्डोले गोल गरेको एक मिनेटपछि नै अर्थात ५५औं मिनेटमा गोल गरे।
नयाँ सिजनमा उत्कृष्ट लयमा देखिएका जोआओ फेलिक्सले ६९औं र ८८औं मिनेटमा दुई थप गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
यस जितसँगै अल-नासरले आफ्नो सिजनको सुरुवात उत्कृष्ट तरिकाले गरेको छ। प्रशिक्षक जर्ज जिससको नेतृत्वमा टोलीले यो सिजन लिग उपाधि जित्ने लक्ष्य राखेको छ। टोलीमा रोनाल्डो, फेलिक्स र कोमानजस्ता खेलाडीहरूको तालमेलले आगामी खेलहरूमा पनि अल-नासरलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
यस वर्षको साउदी सुपर कपको फाइनलमा अल-अहलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अल-नासरले यो जितलाई लिगमा आफ्नो यात्रा सफल बनाउनका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ।













