काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा साविक विजेता बार्सिलोना बराबरीमा राेकिएकाे छ । बार्सिलोनाले रायो भालेकानोसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे ।
खेलको सुरुदेखि नै बार्सिलोनाले बल पोसेसनमा नियन्त्रण जमाएको थियो। लगातारको आक्रमणका बाबजुद पनि रायो भालेकानोको रक्षापंक्तिले बार्सिलोनाका खेलाडीलाई गोल गर्न दिएन।
खेलको ४०औं मिनेटमा बार्सिलोनाका युवा खेलाडी लामिन यमाललाई पेनाल्टी एरियाभित्र फल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पायो। सोही पेनाल्टीमा यमालले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए। यो गोलसँगै पहिलो हाफ बार्सिलोनाको अग्रतामा सकिएको थियो।
दोस्रो हाफमा पनि बार्सिलोनाले अग्रता कायम राख्दै खेलमाथि नियन्त्रण जमाएको थियो। तर, खेलको ६७ औं मिनेटमा रायो भालेकानोका फ्रान पेरेजले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
खेलको अन्तिम समयसम्म पनि थप कुनै गोल हुन सकेन र खेल १-१ गोलको बराबरीमा सकियो। यो बराबरीले बार्सिलोनालाई लिगको उपाधि दौडमा केही धक्का लागेको छ।













