काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा अभिनेता दीपक राज गिरी र निर्देशक सन्तोष सेनबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। एकले अर्काको फिल्मलाई लक्षित गर्दै आरोप-प्रत्यारोप गरेपछि यो विवाद सार्वजनिक भएको हो।
विवादको सुरुवात दीपकराज गिरीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसबाट भएको थियो। उनले कसैको नाम नलिई भनेका थिए, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म लाइ गालि गर्न लगाउने काम बन्द गरौ ! आफ्नो हिरो बाघ ! अरूको स्याल? याद गरौ बाघ पनि जनाबर नै हो !’
उनको यो पोस्टलाई धेरैले हालै प्रदर्शनमा आउँदै गरेकाे सन्तोष सेनको फिल्म बलिदानलाई लक्षित गरिएको ठानेका थिए। त्यसपछि यसको जवाफ नदिइ सन्तोष सेन बस्न सकेनन् । सेनले पनि आफ्नो फेसबुकमार्फत कडा प्रतिक्रिया दिए। उनले ‘आफ्नो फिल्मको प्रचार गर्नको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गर’ भन्दै गिरीलाई चुनौती दिए।
उनले भनेका छन्-
तिम्रो सोचमै पाप छ…
कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर..।
यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेकाछौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन..।
हाम्रो बलिदान को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो..?
तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो..। दर्शकको भावनामा चोट पुर्याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनी उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन..।
कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा..।
कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु
मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन..।
हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ..। कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ।
त्यसलाई लक्षित गर्दै गिरीले पनि जवाफ फर्काइहाले । उनले अर्काे स्टाटस लेखेका छन्- ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यंग्य बुझ्छ! न बौद्धिकता थाहा छ, बुरूक बुरूक सॉढे उफ्रे झै उफ्रिन्छ, माया लाग्छ !’
नेपाली फिल्म क्षेत्रमा यस प्रकारको जुहारी नयाँ होइन, तर यसले फिल्मको व्यावसायिक पक्षभन्दा व्यक्तिगत इगोलाई बढी प्राथमिकता दिने गरेको देखिन्छ। यस विषयले फिल्म बजारलाई कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा देखिनेछ।













