काठमाडाैं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पेरिस सेन्ट-जर्मेन (पीएसजी)का गोलकिपर जियानलुइगी डोनारुम्मा अनुबन्ध गरेको छ ।
२६ वर्षीय इटालियन खेलाडीले पाँच वर्षको सम्झौता गरेका छन्, जसले उनलाई सन् २०३० सम्म इतिहाद स्टेडियममा राख्नेछ । यो अनुबन्ध एडरसनले आठ वर्षको क्लब बसाइँ पछि क्लब छाडेपछि भएको हो।
क्लबमा सामेल भएपछि डोनारुम्माले भने, “म्यान्चेस्टर सिटीमा अनुबन्ध हुनु मेरो लागि धेरै विशेष र गर्वको क्षण हो। म विश्व-स्तरीय प्रतिभाले भरिएको टोलीमा सामेल हुँदैछु, र यो टोलीलाई फुटबलको इतिहासमा सबैभन्दा महान् व्यवस्थापकहरू मध्येका एक पेप गार्डियोलाले नेतृत्व गरिरहेका छन्। यो एउटा यस्तो क्लब हो जहाँ हरेक खेलाडी आउन चाहन्छन्। मैले धेरै वर्षदेखि म्यान्चेस्टर सिटीलाई हेर्दै आएको छु, त्यसैले अब क्लबका लागि खेल्न पाउनु ठूलो सम्मान र सौभाग्य हो।”
डोनारुम्माले एसी मिलानको युवा टोलीबाट आफ्नो करियर सुरु गरेका थिए। २०२०-२१ सिजनमा उनलाई सेरी ए को उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो ।
त्यसको अर्को वर्ष, उनले फ्रान्सको पीएसजीमा सरुवा भए। त्यहाँ उनले चार लिग १ उपाधि, तीन ट्रोफी डेस च्याम्पियन्स, दुई कुप डे फ्रान्स उपाधि र क्लबको पहिलो युइएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा उनले इटालीलाई युरो २०२० को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। फाइनलमा इङ्गल्याण्ड विरुद्धको पेनाल्टी सुट-आउटमा उनको उत्कृष्ट प्रदर्शनका कारण इटाली विजयी भएको थियो। प्रतियोगिताभर उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि पनि दिइएको थियो। उनी यो प्रतिष्ठित पुरस्कार पाउने पहिलो गोलकिपर बनेका थिए।
डोनारुम्माले सिटीमा ९९ नम्बरको जर्सी लगाउनेछन्। उनको आगमनले म्यान्चेस्टर सिटीको यस सिजनको सातौं र अन्तिम अनुबन्ध पूरा भएको छ, जसको लागि क्लबले कुल १८५.८ मिलियन युराे खर्च गरेको छ। डोनारुम्माका अतिरिक्त, सिटीले यस सिजनमा टिज्जानि रेइन्डर्स, रायन एट-नोरी, रायन चेर्की, जेम्स ट्राफोर्ड र स्वेरे निपान जस्ता खेलाडीहरूलाई पनि अनुबन्ध गरेको छ।













