काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत युरोपेली छनोटको समूह ‘ई’ को खेलमा स्पेनले बुल्गेरियालाई ३-० गाेलअन्तरले पराजित गरेको छ।
बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। स्पेनका लागि खेलको पाँचौँ मिनेटमा नै मिकेल ओयार्जाबलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३० औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। पहिलो हाफमै स्पेनले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो। ३८ औँ मिनेटमा मिकेल मेरिनोले तेस्रो गोल गरेपछि स्पेनले पहिलो हाफमै ३-० को सहज अग्रता लियो।
खेलको दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन्। बुल्गेरियाले केही गोलका प्रयास गरे पनि स्पेनको रक्षापंक्ति र गोलरक्षकले त्यसलाई विफल पारिदिए।
यो जितपछि स्पेनले समूह ‘ई’ मा आफ्नो शीर्ष स्थान कायम राखेको छ ।













