घरेलु मैदानमा मेस्सीको भावनात्मक बिदाइ -वाइरिबल

भदौ २०, २०८२
messi 1 by Ditible

काठमाडाैं । बिहीबार राती अर्जेन्टिनाले घरेलु मैदानमा भेनेजुएलालाई ३-० ले हराएसँगै अर्जेन्टिनी फुटबलका महानायक लियाेनल मेस्सीको आफ्नो घरेलु मैदानमा अन्तिम प्रतिस्पर्धात्मक खेल हुन सक्ने कुराले भावनात्मक माहोल सिर्जना भएको छ।

विश्वकप छनोट अन्तर्गतको यो खेलमा ३८ वर्षीय कप्तान मेस्सी आफ्ना छोराहरूसँगै ब्युनस आयर्सको खचाखच भरिएको मन्युमेन्टल स्टेडियममा प्रवेश गर्दा ८०,००० भन्दा बढी प्रशंसकहरूले तालीको गडगडाहटसहित स्वागत गरेका थिए। यस क्षणबाट भावविह्वल भएका मेस्सीले आफ्नो आँसु पुछे, किनकि धेरैको विश्वासमा यो उनको घरेलु मैदानमा अन्तिम विश्वकप छनोट खेल थियो। यद्यपि मेस्सीले आफ्नो सन्यासको मिति नखुलाए पनि यो आफ्नो अन्तिम छनोट खेल भएको पुष्टि गरिसकेका छन्।

पछिल्लो विश्वकप विजेता अर्जेन्टिनाले खेलको सुरुदेखि नै दबदबा कायम राख्दै निकोलस टाग्लियाफिको र फ्रान्को मास्टान्टुओनो मार्फत केही अवसर सिर्जना गरेको थियो तर भेनेजुएलाका गोलकिपर राफेल रोमोले ती प्रयास विफल पारेका थिए।

खेलको ३९औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रभित्रबाट बल मेस्सीलाई पास दिए, जसलाई मेस्सीले आफ्नो जादुमयी बायाँ खुट्टाले गोलमा परिणत गरे। यस गोलसँगै स्टेडियममा मेसीको नाम गुन्जियो र प्रशंसकहरूले झण्डा हल्लाउँदै उनलाई बिदाइको सङ्केत दिए।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले दबाब जारी राख्यो। ७६ औं मिनेटमा लाउटारो मार्टिनेजले निको गोन्जालेजको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै थियागो अल्माडाले सुरु गरेको मुभलाई मेस्सीले आफ्नो दोस्रो गोलमा परिणत गर्दै ३-० को जित सुनिश्चित गरे।

यस जितसँगै अर्जेन्टिना ३८ अंकका साथ दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा छ र अब आफ्नो अन्तिम समूह खेलका लागि इक्वेडरको भ्रमण गर्नेछ। यता भेनेजुएलाले भने कोलम्बियाविरुद्धको खेलमा आफ्नो आशा पुनर्जीवित गर्ने प्रयास गर्नेछ।

खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनी पनि मेस्सीको भविष्यबारे प्रश्न सोधिँदा भावुक बनेका थिए । “आशा छ यो मेस्सीको अर्जेन्टिनामा अन्तिम खेल हुने छैन, तर यदि उहाँले बिदाइ गर्ने निर्णय गर्नुभयो भने उहाँले पाउनुपर्ने जस्तो सम्मान हामी गर्नेछौं,” आँसु पुछ्दै उनले भने।

मेस्सीले पनि खेलअघि भनेका थिए, “यो मेरो लागि धेरै विशेष खेल हुनेछ किनकि यो छनोट चरणको अन्तिम खेल हो। मलाई थाहा छैन त्यसपछि मैत्रीपूर्ण वा अन्य खेलहरू हुनेछन् कि छैनन्, तर यो धेरै विशेष खेल हो, त्यसैले मेरो परिवार: श्रीमती, छोराछोरी, आमाबुबा, दाजुभाइ दिदीबहिनी सबै मसँग हुनेछन्।”

Leave a Reply

Your email address will not be published.