गीतकार नारायण खतिवडाको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक [भिडियाे] -वाइरिबल

अशोज १, २०८२
n 0bO3dZ1Rc HD by Ditible

काठमाडौं । नेपाली गीत–संगीतमा हरेक पुस्ताले आफ्नो समय, परिवेश र यथार्थलाई शब्द र लयमार्फत् अभिव्यक्त गर्ने परम्परा छ । यस्तै परम्परालाई निरन्तरता दिँदै गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत ‘जमाना आजकल’ हालै सार्वजनिक भएको छ ।

गीतले शीर्षककै झल्को दिने गरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असर र प्रभावको बारेमा चिरफार गर्दै प्रस्तुत गरेको छ । गीतमा गाउँदेखि शहर, मौलिक भेषभूषा, परम्परागत बाजा–गाजा र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएको छ ।

गीतलाई मनोज सङ्सोन राईले संगीत र एरेन्ज गरेका छन् । स्वरमा भने स्वयं मनोज सङ्सोन राईसँगै सुरेश पायल राई र बिनुसा राईको रहेको छ । गीतमा “सोझो र सिधा मान्छेलाई लाटो पो भन्छन् हरे, कुटिल चाल रच्नेलाई बाठो पो भन्छन् हरे” भन्ने पंक्तिले गीतको गहिरो भाव प्रस्ट्याउँछ । सरलता र सत्यनिष्ठा कमजोर हुने तर धूर्तता र चलाखीलाई प्रशंसा गर्ने वर्तमान मानसिकतामाथि गीतकारले सशक्त चोट हानेका छन् ।

गीतमा दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ । त्यस्तै “दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो” वा “गुन्यू चोली फरिया फेसनले डाँडो कटायो” भन्ने पंक्तिहरू केवल लुगाको कुरा मात्र होइनन्, बरु मौलिकता र पहिचानको संकटलाई प्रतिविम्बित गरेको छ ।

त्यस्तै, “ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैजडी र डम्फू हरायो” भन्ने शब्दले लोक वाद्य र संस्कृतिको हराउँदै गएको अवस्थामा हाम्रो मौलिकताको जगेर्ना गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सहारा कोईराला, अस्मिता, राहुल, मिरा लगायतको अभिनय रहेको छ भने अर्जुन खड्काको सम्पादन रहेको म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियोबाट प्रमुख अन्तर्राष्ट्रिय म्युजिक प्लेटफर्महरूमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published.