काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको सुरुवाती मिनेटदेखि नै लिभरपुलले आक्रामक प्रदर्शन गरेको थियो। खेलको चौथो मिनेटमै एन्ड्र्यु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। यसको दुई मिनेटपछि नै मोहमद सलाहले अर्को गोल थप्दै लिभरपुलको अग्रता २-० बनाए।
पहिलो हाफको इन्जुरी समयमा मार्कोस ल्लोरेन्टेले गोल गर्दै म्याड्रिडकाे गोलअन्तर कम गरे।
दोस्रो हाफमा पनि दुवै टोलीबीच कडा प्रतिस्पर्धा भयो। खेलको ८१ औं मिनेटमा मार्कोसले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
यद्यपि, लिभरपुलले हार मानेन। खेलको अन्तिम समयसम्म पनि लगातार दबाब बनाइरह्यो। खेलको इन्जुरी समयमा भर्जिल भान डाइकले निर्णायक गोल गर्दै लिभरपुललाई ३-२ को रोमाञ्चक जित दिलाए।
यो नतिजासँगै लिभरपुलले च्याम्पियन्स लिगको सुखद् यात्रा सुरुवात गरेको छ।













