काठमाडाैं । साउदी प्रो लिगअन्तर्गत अल नासरले अल रियादलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
अल नासरको शानदार जितमा पोर्चुगिज स्टारद्वय क्रिस्टियानो रोनाल्डो र जाओ फेलिक्सले दुई-दुई गोल गरे। यस्तै, किंग्सले कोमानले एक गोल थपे।
खेलको छैटौं मिनेटमै जाओ फेलिक्सले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि ३०औं मिनेटमा किंग्सले कोमानले गोल गरेर अग्रता दोब्बर बनाए। ३३औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमै टोलीलाई ३-० को बलियो स्थितिमा पुर्याए।
दोस्रो हाफको सुरुवातमै ४९औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० बनाए। त्यसपछि ५१औं मिनेटमा अल रियादका लागि मामदोउ सिल्लाले एक सान्त्वना गोल फर्काए। यद्यपि, ७८औं मिनेटमा रोनाल्डोले आफ्नो दोस्रो गोल गर्दै अल नासरको ५-१ को जित सुनिश्चित गरे।
यो जितपछि अल नासरले साउदी प्रो लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।













