भारतले पाकिस्तानलाई हरायाे, अभिषेकको विस्फोटक पारी -वाइरिबल

अशोज ६, २०८२
india 1 by Ditible

काठमाडाैं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै आफ्नो विजय यात्रा कायम राखेको छ । १७२ रनको लक्ष्य पछ्याएको भारतले सात बल बाँकी रहँदै ४ विकेटको क्षतिमा १७४ रन बनाएकाे हाे ।

खेलको सुरुवाती १० ओभरसम्म पाकिस्तानले भारतविरुद्ध रोमाञ्चक प्रतिस्पर्धाको संकेत दिएको थियो, तर भारतीय बलरहरूको सन्तुलित आक्रमणसामु उनीहरू टिक्न सकेनन्। पाकिस्तानले पहिले ब्याटिङ गर्दै भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै सर्वाधिक १७१ रन बनाए पनि त्यो हार टार्न पर्याप्त भएन।

१७२ रनको लक्ष्य पछ्याएको भारतलाई ओपनर अभिषेक शर्मा र शुभमन गिलले सनसनीपूर्ण सुरुवात दिए। उनीहरूले पहिलो बलमै छक्का प्रहार गर्दै इनिङ्स सुरु गरे र मात्र ५९ बलमा १०५ रनको साझेदारी गरेर पाकिस्तानको मनोबल तोडिदिए।

अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७४ रन बनाए।

शुभमन गिलले २८ बलमा ४७ रन बनाए । जब अभिषेक आउट भए, भारतलाई जितका लागि ४६ बलमा मात्र ४९ रन चाहिएको थियो, जसले गर्दा मध्यक्रमलाई दबाब महसुस भएन। तिलक वर्मा ३० रनमा अविजित रहे। पाकिस्तानका लागि हरिस रउफले २६ रन खर्चेर २ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ब्याट्सम्यानलाई परिवर्तन गर्दै फखर जमानलाई पठाएको थियो, जसले राम्रो सुरुवात दिए। पाकिस्तानले भारतविरुद्धको टी–२० इतिहासमा आफ्नो सर्वाधिक ५५/१ रन पावरप्लेमा बनायो। यो क्रममा तीव्र गतिका बलर जसप्रीत बुमराहले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै महँगो पावरप्लेमा ३ ओभरमा ३४ रन फ्याँके।

साहिबजादा फरहानले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रन बनाएर प्रतिस्पर्धालाई जीवित राखे। अर्धशतक बनाएपछि ११ बलमा ७ रन मात्र जोडेका फरहानको कारण पाकिस्तानले त्यसपछिको ३९ वैध बलसम्म कुनै बाउन्ड्री प्रहार गर्न सकेन। फरहानले अर्धशतक बनाएपछि बन्दुक चलाएको जस्तो गरी खुसी मनाएका थिए। अन्त्यमा फाहीम अशरफले ८ बलमा अविजित २० रन जोडेका थिए ।

Leave a Reply

Your email address will not be published.