काठमाडौँ । साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएपछि प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक–एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।
नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।













