लिभरपुल पराजित -वाइरिबल

अशोज १२, २०८२
liver by Ditible

लन्डन । क्रिस्टल प्यालेसले गएराति सेल्हर्स्ट पार्कमा भएको प्रिमियर लिग खेलमा साविक विजेता लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडी एडी एन्केतियाहले गरेको नाटकीय गोल नै जितको निर्णायक बन्यो । यो हारसँगै लिभरपुलको यो सिजनको शत प्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ र प्यालेस लिगको दोस्रो स्थानमा उक्लेको छ ।

ओलिभर ग्लासनेरको टोली क्रिस्टल प्यालेसले खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको थियो । ९औं मिनेटमै इज्माइला सारले कर्नर किकमा आएको बललाई नजिकबाट गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ नगरेको भए गोलअन्तर अझ बढ्नसक्थ्यो ।

दोस्रो हाफमा लिभरपुलले खेलमा फर्कने प्रयास गर्‍यो र ८७औं मिनेटमा वैकल्पिक खेलाडी फेडेरिको चिएसाले डिफ्लेक्ट भएको बललाई जाली चुमाउँदै खेल १–१ को बराबरीमा ल्याए । खेल बराबरी भएपछि लिभरपुलले अझै जितका लागि दबाब बढायो, तर अन्तिम प्रहार भने प्यालेसको तर्फबाट भयो ।

इन्जुरी समयको अन्त्यतिर, लामो थ्रो-इनमा आएको बललाई नियन्त्रण गर्दै एन्केतियाहले गोलरक्षक एलिसनको दुई खुट्टाको बीचबाट जाली चुमाए ।

लिगमा अब क्रिस्टल प्यालेस मात्रै अपराजित रहने एक्लो टोली बनेको छ ।

Leave a Reply

Your email address will not be published.