काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि चितवन राइनोजले नयाँ जर्सी सार्वजनिक गरेको छ ।
अरेन्ज (सुन्तला) रङ र कालो रंगको आकर्षक संयोजनमा बनेको नयाँ जर्सी केवल खेलाडीको पोशाकमात्र नभइ चितवनकै संस्कृति, प्रकृति र पहिचानको प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ ।
‘नयाँ जर्सीको मूल आधार अरेन्ज रङ हो । यसका लागि चितवनको सूर्योदय र सूर्यास्तको आकाशबाट प्रेरणा लिइएको छ । यसलाई पूरक बनाउन कालो रंग प्रयोग गरिएको छ, जसले शक्ति, सहनशीलता र एकताको भाव बोकेको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्लबका अनुसार, जर्सीमा अत्याधुनिक फ्याब्रिक प्रयोग गरिएको छ । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्नेमात्र होइन, खेलाडीको श्वासप्रश्वास र गतिशीलतालाई पनि सहज बनाउने छ ।
‘चितवनका आदिवासी समुदायको कलाकौशलबाट प्रेरित छ, जसले गति, निरन्तरता र विकासलाई जनाउँछ । जर्सीको टेक्स्चरमा गैंडाको छालाको झल्को छ, जसले सुरक्षात्मक कवच र धैर्यको प्रतीक प्रस्तुत गर्छ । एकसिङ्गे गैंडा चितवनको आत्मा, शक्ति र लडाकु भावनाको प्रतीक हो । अफिसियल लोगो निडरता, गौरव र साझा उद्देश्यमा एकताको प्रतिबिम्ब हो,’ क्लबले भनेको छ ।
नयाँ जर्सी काठमाडौं उपत्यकामा जर्सीपुलबाट उपलब्ध हुने क्लबले जनाएको छ । साथै, चितवन राइनोजको आधिकारिक वेबसाइट, चितवनस्थित मर्च स्टोर र अफिसियल सामाजिक सञ्जालमार्फत् पनि खरिद गर्न सकिने बताइएको छ ।
‘सही फ्याब्रिकको महत्त्व केवल सहजतामा मात्र छैन, यसले खेलाडीलाई खेलमैदानमा आफ्नो उत्कृष्टता प्रस्तुत गर्न सहयोग गर्छ । यो जर्सी चितवनको समुदाय र संस्कृतिलाई संसार अगाडि देखाउने अवसर पनि हो । यो केवल युनिफर्म होइन, हाम्रो पहिचान हो,’ क्लबका अध्यक्ष आयुष न्यौपाने भन्छन् ।
गुणस्तर र डिजाइनका बारेमा धेरै पटक छलफल गरेपछि नयाँ जर्सी तयार पारिएको जानकारी क्लबका सीओओ आशिष खड्काले बताए ।
‘यो जर्सीले समर्थक र खेलाडी दुवैलाई प्रेरित गर्नेछ । यो जर्सी नयाँ पहिरनमात्र होइन । यसले आफ्नै भूमिको कथा, संस्कृति र पहिचानलाई पनि मैदानमा उतार्ने तयारी गरेको छ । एनपीएलको दोस्रो संस्करणमा यो जर्सीले टोलीलाई थप ऊर्जा दिने विश्वास लिएका छौं,’ उनले भने ।













