काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले मलेसियामाथि सहज जित दर्ता गरेको छ । आज भएको खेलमा मलेसियामाथि ६ विकेट जित निकाल्दै नेपालले सिरिजमा २-२ को बराबरी गरेको हो ।
११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले महत्वपूर्ण इनिङ खेलिन् । उनले ३९ बलमा नटआउट ४८ रन जोडिन् । उनलाई अन्तिम बलसम्म क्रिजमा दरिलो साथ दिएकी रुविना क्षेत्रीले पनि २३ बलमा २३ रन नै बनाइन् । उनीहरुको साझेदारी नै नेपालको जितमा महत्वपूर्ण रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन जोडेको थियाे ।
मलेसियाका लागि मास एलिसा यास्मिनले अर्धशतकीय इनिङ खेलिन् । ६३ बलमा उनले नटआउट ५६ रन जोडिन् । माहिरा इज्जती इस्माइलले १८ रन तथा नुर दानिया सुहादाले १५ रन जोडिन् ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन् ।
पाँच खेलको सिरिजमा यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपाल दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । यस्तै, तेस्रो खेलमा भने १३ रनले पराजय भएको थियो । मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् ।













