काठमाडौं । नेपालकी कप्तान इन्दु बर्मा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
आज भएको मलेसियासँगको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ रन बनाएसँगै इन्दुले यो कीर्तिमान हासिल गरेकी हुन् । उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म एउटा मात्रै अर्धशतक रहेको छ, जुन उनले सन् २०२१ मा कतारविरुद्ध दोहामा ५५ रन बनाउँदै गरेकी थिइन् । उनले हालसम्म ७३ चौका र ३ छक्का प्रहार गरिसकेकी छन् ।
नेपालका लागि महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा इन्दु अब शीर्ष स्थानमा पुगेकी छन् । यसअघि सीता रानामगरले ६२ खेलमा ९६५ रन र रुविना क्षेत्रीले ७८ खेलमा ९१६ रन बनाएकी छन् ।
इन्दुले सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी छन् ।













