काठमाडौं । आज बेलुकी पौने ९ बजेदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले आफ्नो तेस्रो विश्वकप यात्राको सपना बोकेर कुवेतविरुद्ध मैदानमा उत्रिँदैछ । नेपालका लागि यो छनोट खेल मात्र नभएर नेपाली क्रिकेटका लागि इतिहास रच्ने अवसर पनि हो।
जहाँ अभ्यास खेलमा बलियो वेस्ट इन्डिजलाई हराएको उच्च मनोबल र महिनौँको कडा तयारीले नेपाललाई प्रतियोगिताकै दाबेदार बनाएको छ । तर, नेपालका लागि ९ टोली सम्मेलित यो प्रतियोगितामा शिर्ष ३ भित्र पर्न त्यति सजिलो भने पक्कै छैन । आजदेखि सुरु हुने यो छनोट प्रतियोगिता असोज ३१ गतेसम्म ओमानमा चल्नेछ, जसमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई पहिलो पटक एकै ठाउँमा जोडिएको छ । यसअघि अलग–अलग हुँदा दुई टोली मात्र छनोट हुन्थ्यो, तर अब तीन टोलीले विश्वकप टिकट पाउनेछन् ।
नौ टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जहाँ समूह ए मा मलेसिया, कतार, यूएई छन् भने समूह बी मन नेपाल, जापान, कुवेत र समूह सी मा ओमान, पपुवा न्युगिनी (पीएनजी) र सामोआ रहेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले चार खेल खेल्नेछ । यस चरणको शीर्ष तीन टोलीहरूले सन् २०२६ को टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्, जुन भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुनेछ ।
भारत र श्रीलंकामा हुने विश्वकपमा कुल २० टोली सहभागी हुनेछन्, जसमध्ये १७ टोलीको पहिल्यै टुंगो लागिसकेको छ । जहाँ भारत र श्रीलंका आयोजकको नाताले सिधैं छनौट हुँदा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सन् २०२४ मा भएको विश्वकपको आधारमा, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र्याङ्किंगका आधारमा, क्यानडा अमेरिकी क्षेत्रबाट, इटाली र नेदरल्यान्ड्स युरोपबाट र नामिबिया र जिम्बाब्वे अफ्रिकाबाट छनौट भैसकेका छन् ।
यो ढाँचा नेपाली टोलीका लागि अवसर र चुनौती दुवै हो । समूह बी मा रहेको नेपालका लागि कुवेत चिरप्रतिद्धन्द्ध हो भने जापान नेपालका लागि विल्कुल नयाँ चुनौती हो । नेपालले हालसम्म कुवेतसँग ३ वटा टी–२० आई खेल खेलेको छ । जसमा २ खेल नेपालले जितेको छ भने १ खेल कुवेतले जितेको छ । सोही कारण कुवेतविरुद्ध नेपालको मनोबल उच्च रहेको छ । तर मोहम्मद अस्लामको कप्तानीमा रहेको कुवेतको टोलीमा क्लिन्टो आन्टो, मित भावसार, अनुपदीप चेन्थामारा, यासिन पटेल, बिलाल ताहिरजस्ता स्टार खेलाडीहरु छन् । कुवेत आइसिसी टिट्वान्टी आई वरीयतामा २३औं स्थानमा छ ।
आजको खेलपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध समूहचरणको दोस्रो खेल खेल्नेछ । सोही कारण नेपालसँग कमसेकम आजको खेल नत्र जापानविरुद्ध एउटा मात्र सहज जितले पनि समूहको शीर्षमा रहँदै सुपर सिक्स पुग्ने बलियो सम्भावना रहेको छ, तर सुपर सिक्समा यूएई, ओमान जस्ता बलिया टोलीहरूसँगको खेलले नेपालको असल परीक्षा लिनेछ ।
हुनत नेपाली क्रिकेटको पछिल्लो यात्रा कुनै रोमाञ्चक कथा जस्तो छ भन्दा फरक नपर्ला ! यस छनोट खेलअघि नेपालले यूएईमा वेस्ट इन्डिजसँगको टी–२० शृंखला २–१ ले जितेर इतिहास नै रच्यो । यो जित अघि नेपालले अस्ट्रेलियामा ‘टप इन्ड सिरिज’ र प्रान्तीय टोलीहरूसँग अभ्यास गरेको थियो ।
ओमान पुगेपछि भएका दुई अभ्यास खेलहरूमा पनि नेपालले अब्बल प्रदर्शन ग¥यो । यो सकारात्मक मनोबलले नेपाललाई प्रतियोगिताकै प्रमुख दाबेदार बनाएको छ, तर ओमान र यूएईसँगको विगतका हारहरूले नेपाललाई केही सतर्कता भने पक्कै बनाएको हुनुपर्छ । अर्कोतर्फ हाल टोली छनौट भएका अधिकांश खेलाडीहरूले सन् २०२४ विश्वकपको अनुभव बोकेका छन्, जसले यो प्रतियोगितामा हुने दबाबमा खेल्ने क्षमता बढाएको छ । ओपनिङ आसिफ शेख र कुशल भुर्तेलको जोडीले सम्हालेका छन् भने मिडल अर्डरमा दीपेन्द्र र कुशल मल्लको आक्रामकता र बलिङमा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीको अनुभवले टोलीलाई बहुमुखी बनाएको छ ।
नेपाललाई यो पटक विश्वकप पुग्ने सुनौलो अवसर छ । यदि नेपालले समूह चरणमा राम्रो सुरुआत गर्न सक्यो भने, सुपर सिक्सबाट शीर्ष तीनमा पर्न सक्छ । तर त्यसका लागि लगातार राम्रो प्रदर्शन आवश्यक छ ।













