काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको हो ।
ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा युएई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै समेटियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन जोडेको थियाे । नेपालको इनिङ्समा ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गरे । उनले ४७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन जोडे।
मध्यक्रममा कप्तान रोहित पौडेल र सुरुवाती ब्याटर कुशल भुर्तेलले पनि महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले २६ बलमा २८ रन बनाउँदा रोहित पौडेलले १९ बलमा २० रनको पारी खेले।













