काठमाडौं । एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको छ।
एसीए-भीडीसीए क्रिकेट स्टेडियममा भएकाे खेलमा अस्ट्रेलियाले ३३१ रनकाे विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै ६ बल बाँकी रहँदै जित दर्ता गर्यो।
टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियालाई जवाफ दिँदै भारतले ४८.५ ओभरमा ३३० रनको बलियो योगफल खडा गरेको थियो। भारतका लागि स्मृति मन्धानाले ८० रन र प्रतिका रावलले ७५ रनको महत्त्वपूर्ण योगदान दिए।
अस्ट्रेलियाको बलिङतर्फ अन्नाबेल सदरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ९.५ ओभरमा ५ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट हात पारिन्।
३३१ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले कप्तान एलिसा हिलीको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतले ४९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य हासिल गर्यो। हिलीले मात्र १०७ बलमा १४२ रनको विस्फोटक पारी खेलिन्। तल्लो क्रममा एलिस पेरीले अविजित ४७ रन बनाएर टोलीलाई जित दिलाइन्।
भारतको बलिङतर्फ नल्लापुरेड्डी चरणी ३ विकेट लिइन् भने दीप्ति शर्मा र अमनजोत कौरले समान २ विकेट लिएपनि जितका लागि पर्याप्त भएन।













