काठमाडाैं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
सुपर सिक्समा नेपाल र ओमान दुवै टोलीले अहिलेसम्मका दुई-दुई खेल जितेर समान ६-६ अङ्क जोडेका छन् । उत्कृष्ट नेट रनरेटका आधारमा ओमान पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा छ। आजको खेल जित्ने टोलीको आगामी टी-२० विश्वकपको लागि छनोट यात्रा लगभग पक्का हुनेछ।
नेपालले आफ्नो पहिलो सुपर सिक्स खेलमा युएईलाई १ रनको रोमाञ्चक अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो। ओमान पनि समूह चरणदेखि नै अपराजित छ र उसले सुपर सिक्समा युएई र कतार दुवैलाई हराएको छ।
नेपाल यो महत्त्वपूर्ण भिडन्तमा ओमानलाई हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने अभियानलाई थप बलियो बनाउन चाहन्छ। नेपाली टोलीको बलिङ र फिल्डिङ बलियो देखिए पनि ब्याटिङमा सुधार आवश्यक रहेको देखिन्छ ।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्।













