काठमाडाैं । टी-२० विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स अन्तर्गतको एक खेलमा संयुक्त अरब इमिरेट्सले सामोआलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
अल अमेरात क्रिकेट ग्राउण्डमा भएको रोमाञ्चक खेलमा यूएईले सामोआलाई पूर्ण रूपमा दबाबमा राख्दै महत्त्वपूर्ण जित हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२५ रनको विशाल योगफल खडा गरेको थियो।
अलिशान शराफुले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ५१ बलमा ८६ रन बनाए। विकेटकिपर राहुल चोप्राले पनि ३४ बलमा ६२ रनको शानदार अर्धशतकीय पारी खेले।
अन्तिममा हर्षित कौशिकले १२ बलमा आक्रामक ४४ रन जोड्दै टोलीको स्कोरलाई २२५ सम्म पुर्याएका थिए।
जवाफमा २२६ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमा मात्र सीमित हुन पुग्यो। सामोआका लागि ब्याटिङमा कलेब जेस्मटले सर्वाधिक ४१ रन बनाए भने बेन्जामिन माइलाटाले ३९ रन र सामुअल जेम्स फ्रेन्चले २५ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन।
यूएईको जितमा ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे पनि बलिङमा मुहम्मद फारूक निर्णायक सावित भए। उनले ४ ओभरमा मात्र ३५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। फारूकको कसिलो बलिङका सामु सामोआका मध्यक्रमका ब्याट्सम्यानहरू टिक्न सकेनन्।
त्यस्तै, मुहम्मद इरफानले २ विकेट लिए भने जुनेद सिद्दिकीले १ विकेट लिए।
मुहम्मद फारूकले आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनका कारण ‘प्लेयर अफ द म्याच’ को उपाधि प्राप्त गरे। यो जितसँगै यूएईले विश्वकप छनोटको सुपर सिक्समा आफ्नो स्थिति बलियो बनाएको छ।













