विश्वकप छनोट प्रतियोगिता जिते प्रत्येक नेपाली खेलाडीहरुले १९ लाख ५० हजार पाउने -वाइरिबल

अशोज ३०, २०८२
nepal s 3 by Ditible

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको च्याम्पियन बने नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

सुपर सिक्सको महत्त्वपूर्ण खेलमा गएराति घरेलु टोली ओमानलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको नेपालका लागि छनोट प्रतियोगिताको उपाधि एक कदम मात्रै टाढा छ । अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको नेपालले यसपटक विश्वकप छनोटको ट्रफी जित्ने सम्भावनालाई पनि मजबुत बनाएको छ । नेपाल ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा छ । नेपालले समूह चरणमा कुवेत र जापान तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।

अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ । यो खेल जिते नेपालले छनोट प्रतियोगिताको उपाधि नै जित्नेछ । तुलनात्मक रुपमा सामोआ प्रतियोगिताकै कमजोर टोली हो । हालसम्म ३ खेलमा जित निकाल्न सकेको छैन । त्यसकारण नेपालाई यो छनोट प्रतियोगिताको उपाधिसँगै सरकारको पुरस्कार जित्ने अवसर पनि हो ।

राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विकास नियमावलीअनुसार विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । यदी सामोआसँग नेपालले अप्रत्यासित हार व्यहोरेको र ओमानले अर्को जित हात पारेर नेपाल दोस्रो भएको खण्डमा भने १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् ।

साथै नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।

यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए । छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । यसैगरी नेपाल क्रिकेट संघ क्यानले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published.