‘जेनजी’ सहिद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई -वाइरिबल

कार्तिक ४, २०८२
IMG 20251021 WA0004 by Ditible

काठमाडौँ। सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए। प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम हुने टोलीले नगद रु ७५ हजार, दोस्रोले रु ५५ हजार, तेस्रोले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुन्।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक÷एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई÷दुई गरी १० टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.