न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकपकाे सेमिफाइनलमा -वाइरिबल

कार्तिक ७, २०८२
india 2 by Ditible

काठमाडाैं । भारतले आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। भारतले न्युजिल्याण्डलाई डिएलएस पद्धतिको आधारमा ५६ रनले हराएकाे हाे ।

तीन खेलमा लगातार हार बेहोरेपछि भारतले यो महत्वपूर्ण जित दर्ता गरेको हो, जसले न्युजिल्याण्डको विश्वकप यात्रामा पूर्णविराम लगाएको छ।

यो नतिजासँगै हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले ६ खेलमा ६ अंक जोड्दै अस्ट्रेलिया, इंग्ल्याण्ड र दक्षिण अफ्रिकालाई नकआउट चरणमा पछ्याएको छ।

टस जितेर न्युजिल्याण्डले पहिला बलिङ गर्ने निर्णय गर्यो, तर भारतले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो। वर्षाले प्रभावित खेलमा भारतले ४९ ओभरमा ३ विकेट गुमाउँदै ३४० रनको विशाल योगफल खडा गर्‍यो।

ओपनर प्रतिका रावल १२२ रन र स्मृति मन्धाना १०९ रनको शानदार शतकको मद्दतले भारतले बलियो जग बसाल्यो। यी दुई खेलाडीले २१२ रनको उत्कृष्ट साझेदारी गरे, जुन यस प्रतियोगितामा भारतको लागि सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो।

प्रतिका रावलले ओडीआईमा सबैभन्दा छिटो १००० रन पूरा गर्ने कीर्तिमान पनि बनाइन्। त्यसपछि जेमिमाह रोड्रिग्सले अविजित ७६ रनको आक्रामक इनिङ्स खेल्दै भारतलाई उच्च स्कोरसम्म पुर्याउन मद्दत गरिन्।

वर्षाका कारण खेल सुरु हुनुअघि न्युजिल्याण्डलाई डिएलएस पद्धतिको आधारमा ४४ ओभरमा ३२५ रनको संशोधित लक्ष्य दिइएको थियो।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले सुजी बेट्सलाई दोस्रो ओभरमै गुमाएको थियो। जर्जिया प्लिमर र मेलिए केरले ५० रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे। तर, भारतीय बलरहरूले लगातार विकेट लिँदै न्युजिल्याण्डलाई दबाबमा राखिरहे। ब्रुक हलिडे ८१ रन र इज्जी गेजले ६५ रन बनाउँदै मध्यक्रममा जुझारु प्रदर्शन गरे पनि बढ्दो रन रेट र लगातार विकेट गुमाउँदा न्युजिल्याण्ड ४४ ओभरमा ८ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो।

Leave a Reply

Your email address will not be published.