काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई कसैप्रति पनि घृणा वा नकारात्मकता नफैलाउन अपील गरेका छन्।
दुबईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजकाे तयारी गरिरहेका लामिछानेले आफूप्रति व्यक्त भएको समर्थनको कदर गर्दै, हालै सामाजिक सञ्जालमा भएको भनाइको विषयमा शान्त र सम्मानजनक ढङ्गले अगाडि बढ्ने बताएका छन्।
उनले हालै भएको घटना र त्यसको प्रतिक्रिया ‘स्वीकार्य नभएको’ भन्दै समर्थकहरूको भावना र आक्रोश बुझेको बताएका छन्। तर कसैप्रति पनि घृणा वा नकारात्मकता नफैलाउन उनकाे आग्रह छ ।
उनले सबै कुरा शान्ति र सम्मानका साथ समाधान गर्नुपर्नेमा विश्वास व्यक्त गर्दै आफ्नो वकिलले विषयलाई हेरिरहेको जानकारी दिएका छन्।
दुबईमा सुरु हुन लागेकाे क्रिकेट विश्वकप लिग-२ मा आफ्नो पूर्ण ध्यान केन्द्रित रहेको उनले बताएका छन्। नेपाल फर्किएपछि मात्रै यो विषयमा विस्तृत रूपमा बोल्ने उनकाे भनाइ छ ।













