काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा सोमपाल कामीको हातबाट रन आउट भएका थिए । यस्तै, साइतेजा मुक्कमल्लाले पनि ५८ बलमा ३ चौकासहित ४२ रनको योगदान दिएका थिए। उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, मिलिन्द कुमारले आक्रामक इनिङ खेल्दै ५० बलमा ६ चौका र २ छक्का प्रहार गरी अविजित ७० रन जोडे।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यसबाहेक, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट हात पारेका थिए। तीब्र गतिका बलर सोमपाल कामी र करण केसी भने विकेटविहीन रहे।













