काठमाडौँ । प्रदर्शन गरेको पाँचौ दिनसम्ममा नेपाली सिनेमा ‘वरिष्ठ बलराम’ ले रु दुई करोड आम्दानी गरेको छ । प्रदर्शनरत सिनेमाले पाचौँ दिनसम्ममा दुई करोड आम्दानी गरेको निर्माण टिमले जनाएको हो ।
सिनेमाले अहिलेसम्म २ करोडको ग्रस कलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए । सुरेन्द्र पौडेलद्धारा निर्देशित यो सिनेमाले दर्शकबाट सकरात्मक समीक्षा बटुलेको छ भने मध्यम परिवारको कथा समेटिएको यो सिनेमामा अभिनेता दयाहाङ राई र विजय बरालको मुख्य भूमिका छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको सिनेमामा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ ।
सिनेमाको कथा निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्मको सम्पादन पनि निर्देशक स्वयंले गरेका हुन् । पटकथा लेखन भने महेश दवाडीले लेखेका हुन् । कृष्ण महर्जनले खिचेको यो फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ ।












