काठमाडाैं । आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियालाई रोमाञ्चक खेलमा ५ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।
मुम्बईको डी वाई पाटिल स्पोर्ट्स एकेडेमीमा हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै ऐतिहासिक जित दर्ता गरेकाे हाे ।
टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया महिला टिमले निर्धारित ४९.५ ओभरमा ५ विकेट गुमाउँदै ३३८ रनको बलियो योगफल खडा गरेको थियो। अस्ट्रेलियाका लागि ओपनिङ ब्याटर फोबी लिचफिल्डले ९३ बलमा ११ चौका र ६ छक्कासहित शानदार ११९ रन बनाइन्। यस्तै, एलिस पेरीले ७७ र आस्ले गार्डनरले ६३ रनको महत्त्वपूर्ण योगदान दिए।
भारतका लागि नल्लापुरेद्दी चरानी र दीप्ति शर्मा ले २-२ विकेट लिए।
जवाफमा, भारत महिला टिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ४८.३ ओभरमा ५ विकेट गुमाएर ३४१ रन बनाउँदै खेल जित्यो। भारतको जितमा ओपनर जेमिमाह रोड्रिग्स ले महत्वपूर्ण भूमिका निर्वाह गरिन्। उनले १३४ बलमा ८ चौका र ३ छक्कासहित १२७ रनको शानदार शतकीय इनिङ खेलिन्।
कप्तान हरमनप्रीत कौर ले पनि ८८ बलमा ८९ रनको प्रभावशाली पारी खेलिन्। यी दुई खेलाडीले तेस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै भारतलाई जित नजिक पुर्याएका थिए।
अस्ट्रेलियाका लागि बलरहरू किम गार्थ र अन्नाबेल सदरल्याण्ड ले २-२ विकेट लिए पनि उनीहरूको टिमलाई जित दिलाउन पर्याप्त भएन।
भारतलाई फाइनलमा पुर्याउन निर्णायक शतक बनाएकी जेमिमाह रोड्रिग्स ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनको यो अविस्मरणीय प्रदर्शनले अस्ट्रेलियाको उपाधि रक्षा गर्ने सपनामा पूर्णविराम लगाएको छ।
भारतले अब फाइनलमा दक्षिण अफ्रिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।










