काठमाडाैं । भारतीय महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि जितेर इतिहास रचेको छ।
गएराति मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले सानदार जित हासिल गरेको हो।
टस जितेर पहिले बलिङ गर्ने दक्षिण अफ्रिकाको निर्णयपछि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रनको बलियो योगफल खडा गर्यो। भारतका लागि शेफाली वर्माले ७८ बलमा ८७ रन को उत्कृष्ट इनिङ्स खेलिन्। त्यस्तै, अलराउन्डर दीप्ति शर्माले ५८ बलमा ५८ रनको महत्त्वपूर्ण योगदान दिइन्।
जवाफमा, २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको टोली ४५.३ ओभरमा २४६ रनमा समेटियो। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्टले ९८ बलमा १०१ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई आशा दिलाए पनि अन्य खेलाडीले साथ दिन सकेनन्।
भारतको जितमा ब्याट र बल दुवैबाट चम्किएकी दीप्ति शर्माले ३९ रन खर्चेर ५ विकेट लिँदै दक्षिण अफ्रिकाको मध्यक्रम ध्वस्त पारिन्। उनले महत्वपूर्ण समयमा कप्तान वोल्भार्ड्टको विकेट पनि लिएकी थिइन्।
यस जितसँगै हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले ५२ वर्षको महिला विश्वकपको इतिहासमा पहिलो पटक यो उपाधि आफ्नो नाममा पार्न सफल भएको छ।













