काठमाडौं । ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।
चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ ।
चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो चलचित्रमा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? आमा कुन्ती को हो ?
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । चलचित्रका अन्य केही कलाकारहरू अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’ का लेखक समेत हुन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।
“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ,” उनले भने, “हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ ।”
यसअघि गतवर्ष नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । केही महिना भित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।













