रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गएराति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु२च ८५३१ नम्बरको कार बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनाग्रस्त कार सडकबाट करिब एक सय मिटर तल खसेको थियो । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।