दैलेखमा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालका अनुसार कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य ७ जनाको अवस्था सामान्य रहेको र उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी जिप सडकभन्दा ५० मिटर तल खसेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।