लन्डनको हिथ्रो विमानस्थल शुक्रबार पूरै दिनका लागि बन्द रहने भएको छ। बीबीसीका अनुसार विमानस्थल नजिकै रहेको एक इलेक्ट्रिकल सबस्टेसनमा ठूलो आगलागी भएपछि विमानस्थलको बिजुली आपूर्ति प्रभावित भएको हो।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आगलागीका कारण विमानस्थलमा ठूलो परिमाणमा बिजुली आपूर्ति प्रभावित भएको छ।”
विज्ञप्तिमा थप भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षाका लागि हिथ्रो विमानस्थल मार्च २१ को मध्यरात २३:५९ बजेसम्म बन्द रहनेछ।”
यात्रुहरूलाई हवाई मैदानमा नजान सल्लाह दिँदै, थप जानकारीका लागि आफ्नो एयरलाइनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। विमानस्थलले यात्रुलाई भएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।