ब्राजिलले खायो अर्जेन्टिनाको ४ गोल

चैत्र १३, २०८१
Argentina vs Brazil

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ को उत्कृष्ट अन्तरले पराजित गरेको छ।

यसअघि नै बोलिभिया र उरुग्वेबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरिसकेको थियो। रोचक कुरा के छ भने अर्जेन्टिनाले यो जित कप्तान लिओनल मेसीको अनुपस्थितिमा दर्ता गर्यो।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे। ब्राजिलका लागि माथिउस कुन्हाले सान्त्वना गोल फर्काए।

खेलको चौथो मिनेटमै जुलियन अल्भारेजले थियागोल अल्माडाको पासलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि, १२औं मिनेटमा एन्जो फर्नान्डेजले नाहुल मोलिनाको पासमा गोल थप्दै अग्रता दोब्बर बनाए।

ब्राजिलका कुन्हाले २६औं मिनेटमा गोल फर्काएर खेलमा फर्कने संकेत दिए। तर, ३७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को बलियो अग्रता दिलाए।

दोस्रो हाफमा अर्जेन्टिनाले आफ्नो प्रदर्शनलाई अझ मजबुत बनायो। ७४औं मिनेटमा जिउलियानो सिमीओनीले अर्को गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।

यो जितपछि अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित छनोटको शीर्ष स्थान सुरक्षित गरेको छ। उता, ब्राजिल समान खेलबाट २१ अंकसहित चौथो स्थानमा छ। इक्वेडर २३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने उरुग्वे २१ अंकसहित तेस्रो स्थानमा छ। पाराग्वे पनि २१ अंकका साथ पाँचौं स्थानमा रहेको छ, जबकि कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ।

दक्षिण अमेरिकी छनोटको नियमअनुसार शीर्ष ६ टोलीहरू सिधै विश्वकपमा छनोट हुन्छन्, जबकि सातौं स्थानमा रहने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नुपर्नेछ।

अन्य खेलहरूमा उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेले। यस्तै, कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेले भने भेनेजुएलाले पेरुलाई १-० ले हरायो।

Leave a Reply

Your email address will not be published.