अर्जेन्टिनाले विश्वकप २०२६ को यात्रा पक्का गर्यो

चैत्र १३, २०८१
Argentina Qualifies for FIFA

साविक विजेता अर्जेन्टिनाले आगामी वर्ष उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नु अघि नै विश्वकपको टिकट पक्का गर्यो।

दक्षिण अमेरिकी छनोटमा १० टिम सहभागी छन्, जसबाट शीर्ष ६ टिमहरू सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ।

१३ खेलपछि अर्जेन्टिना २८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको टोलीभन्दा अर्जेन्टिना ६ अंकले अघि छ।

गत संस्करणको विजेता समेत रहेको अर्जेन्टिना अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकप २०२६ का लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बनेको छ।

हाल अर्जेन्टिना छनोट अन्तर्गत ब्राजिलसँग खेलिरहेको छ।

विश्वकपका तीन आयोजक राष्ट्रसहित हालसम्म ७ टोलीले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भइसकेका छन्।

सन् २०२६ को फिफा विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published.