निर्देशक सनोज मिश्र बलात्कार आरोपमा पक्राउ

चैत्र १८, २०८१
Sanoj Mishra

भारतको महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। उनलाई बलात्कारको गम्भीर आरोप लागेको छ।

दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको हो। प्रहरीले सनोजमाथि एउटा सानो सहरकी युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लगाएको छ। ती युवती नायिका बन्ने सपना देख्थिन्।

सनोजले उनलाई फिल्ममा भूमिका दिने भन्दै सम्पर्क गरेका थिए। पीडितका अनुसार, उनले शारीरिक शोषण गरेका थिए र कसैलाई भने फिल्म उद्योगमा काम नपाउने धम्की दिएका थिए। उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको हो।

महाकुम्भ मेलामा माला बेच्ने मोनालिसा आफ्नो सुन्दरता, विशेष गरी आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्। सनोजले उनलाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गरेका थिए। उनी मोनालिसाको घरमै गएर फिल्मको लागि साइन गराए र तालिमसमेत सुरु गरेका थिए। तर, अहिलेको घटनाले मोनालिसाको फिल्मी करियर र छविमा प्रश्न खडा भएको छ।

प्रहरीका अनुसार, सनोजविरुद्ध यसअघि पनि धेरै उजुरी परेको थियो। तर, यसपटक प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो। अदालतले पनि उनको जमानत अस्वीकार गर्दै अनुसन्धान पूरा नभएसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको छ। यो घटनाले फिल्म क्षेत्रमा ठूलो चर्चा चलाएको छ।

Leave a Reply

Your email address will not be published.