भारतको गुजरात राज्यमा मंगलबार एक पटका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
यो घटना बनासकाँठा जिल्लाको डीसा नगरमा भएको हो। विस्फोटका कारण गोदामको केही भाग भत्किएको छ, जसले गर्दा धेरै मानिसहरू त्यहाँ फसेका थिए। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए।
सुरुमा प्रहरीले ६ जनाको मृत्यु भएको जनाएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै पुष्टि हुन सकेको छैन।
हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी परिचालित छन्।
प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने आगलागीको कारण र क्षतिको मूल्यांकन भइरहेको छ।
भारतमा पटका कारखाना र गोदामहरूमा सुरक्षा मापदण्डको बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।